देवचुली,
देवचुली नगरपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन सम्पन्न भएको छ । बुधबार देवचुली नगरपालिकाको सभाहलमा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा हालसम्म नगरपालिकाले गरेको प्रगति विवरणको साथमा आर्थिक ऐन २०८० प्रस्तुत गर्दै छलफल गरिएको थियो । कार्यक्रमको सुरुवातमा विधेयन समितिका संयोजक एकदेव पौडेलले आर्थिक ऐन अन्तर्गतका प्रस्तावहरु प्रस्तुत गर्नुभएको थियो । उहाँले अनुसुची १३ अन्तर्गत ढुंगा, गिटी, बालुवा र ग्रावेल संकलनमा लाग्ने शुल्कको विषयमा, अनुसुची १५ अन्तर्गत फोहोरमैला संकलन तथा व्यवस्थापन शुल्कमा संशोधनको विषयमा र २६ कार्यपालिकाको बैठकबाट निर्धारित कर तथा शुल्क संशोधन तथा हेरफेर गर्ने वा नयाँ क्षेत्र पहिल्याई कर कायम गर्ने विषयमा प्रस्ताव पेश गर्नुभएसँगै छलफल पश्चात पारित समेत गरिएको थियो ।
नगर उप प्रमुख पार्वता तिवारीले देवचुली नगरपालिकाको हाल सम्मको प्रगति र संशोधित बार्षिक बजेट तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षको लागि विनियोजन ऐनबाट ८१ करोड २९ लाख ८२ हजारको बार्षिक बजेट तथा कार्यक्रम पेश भएकोमा हालसम्म नगरपालिकाको समग्र वित्तिय प्रगति २२.६३ प्रतिशत रहेसँगै चालु खर्च तर्फ २५.७९ प्रतिशत रहेको र पूँजिगत खर्चतर्फ १५.३१ प्रतिशत प्रगति रहेको जानकारी गराउनुभएको थियो । उहाँका अनुसार आर्थिक विकास तर्फ ९.०४ प्रतिशत, सामाजिक विकास तर्फ २३.८४ प्रतिशत, पुर्वाधार विकास तर्फ २०.०१ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ६.९८ प्रतिशत र प्रशासनतर्फ ३८.१२ प्रतिशत प्रगति रहेको छ । नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वडा स्तरीय ३५४, नगरस्तरीय ४०७ र शर्शत तर्फ १२३ गरी कुल ८८४ योजना रहेको मध्ये वडागत र शशर्त गरी १७० वटा सम्झौता भएको र ४९ वटा योजना सम्पन्न भएको छ । नगरपालिकाको १७ वटा वडामा ५४ वटा उजुरी दर्ता भएकोमा ३४ निवेदनको अन्तिम निरुपण भएको र बाँकी छलफलको क्रममा रहेको छ ।
उपप्रमुख तिवारीले प्रगति विवरण पेश गर्ने क्रममा संघीय सरकार, प्रदेश सरकारबाट अनुमानित अनुदान पूर्ण रुपमा प्राप्त नभएको र आन्तरिक आयतर्फ १२ करोड १३ लाख ९४ हजार अनुमान गरेकोमा जम्मा २ करोड ४८ लाख ६१ हजार ९ सय ४२ रुपैंया संकलन भएको बताउनुभएको थियो । पालिका भित्र रहेका गरिब तथा विपन्न वर्गका लागि स्वाथ्य विमा कार्यक्रम, निःशुल्क स्वास्थ्य परिक्षण, महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर सम्बन्धि शिविर संचालन गरेको र प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा विशेषज्ञ चिकित्सक सहित २४ सैँ घण्टा सेवा सञ्चालन गरिएको छ । नगरपालिकामा गत आर्थिक वर्षको बोलपत्र आवह्न गरेको बाटोहरु जम्मा २०६६.५ मिटर कालोपत्रे बाटो सम्पन्न भएको, ३ स्थानमा झोलुङ्गे निर्माण काम भइराखेको छ भने यस आ.वमा करिब ५ सय ५० घरहरु नक्सा पास तथा अभिलेखीकरणको प्रक्रियामा रहेका छन् । विधायन समिती संयोजक एकदेव पौडेलले प्रस्तुत गर्नुभएको ऐन सर्वसम्मत पारित गर्दै नगर सभाका सभाध्यक्ष हरि प्रसाद न्यौपानेलाई पुस्तिका हस्तान्तरण गरिएको थियो । संशोधित बजेट, विधेयक र प्रस्तुत विषयहरु माथि नगर सभा सदस्यहरुले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार लगायतका विषयमा प्रश्न गरेका थिए । नगरसभा सदस्यहरुको जिज्ञासालाई देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले जवाफ दिनुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, १७ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख एवम् कर्मचारी , पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
यस्तै नगर सभाको अन्तिममा देवचुली नगरपालिकाका संस्थापक नगर प्रमुख पूर्णकुमार श्रेष्ठ र नगर अस्पतालका लागि जग्गा उपलब्ध गराउनुभएकी विष्णुदेवि कोइरालालाई कदर पत्र सहित सम्मान गरिएको थियो ।