देवचुली
नवलपुरको देवचुली नगरपालिकाका टोल सुधार समितिले पर्वत जिल्लाको कुश्मा नगरपालिकासँग सिकाई आदानप्रदान गरेको छ।
नगरपालिकाको वडा नं १३ का टोल सुधार समितिलाई वडा कार्यालयले ३ दिने अध्ययन अवलोकन भ्रमणको आयोजना गरि अनुभव आदानप्रदान तथा आन्तरिक पर्यटनको प्रवर्द्धन गरेको छ।
कार्यक्रममा वडा नं १३ को तर्फबाट वडाध्यक्ष एकदेव पौडेल, टोल सुधार समितिका तर्फबाट वागेश्वरी टोल सुधार समितिका अध्यक्ष चन्द्रकान्त गौतम र सृजनशील टोल सुधार समितिका सचिव राजकुमार क्षेत्रीले देवचुली नगरपालिकाका वडा नं १३ का टोल सुधार समितिले कार्य र उपलब्धिका विषयमा आफ्ना भनाई राख्नुभएको थियो।
कुश्मा नगरपालिकाका तर्फबाट नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल, वडा नं २ का वडाध्यक्ष लालकृष्ण शर्मा, ३ का तेजप्रसाद पाध्या, ७ का परशुराम पुरी र ९ का वडाध्यक्ष राम शर्मा लामिछानेले आफ्ना भनाई राख्नुभएको थियो।
यसैगरी टोल सुधारका तर्फबाट सर्वेश्वर टोल सुधार समितिका अध्यक्ष शिव शर्मा र शिवालय टोल सुधार समितिका अध्यक्ष तारा गिरीले बोल्नुभएको थियो। सो अवसरमा उहाँहरुले कुश्मा नगरपालिकाले " सफा गर्नुभन्दा फोहोर नै नगर्नु" भन्ने सिद्धान्त अवलम्बन गरेको बताउनुभयो। सिकाई अध्ययन र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तिन दिने भ्रमण तय गरेको वडा नं १३ ले पोखरामा जारी प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनीको समेत अवलोकन गरेको छ।
सो अवसरमा टोलीले प्रदर्शनीमा आधुनिक कृषि प्रणाली तथा कृषिमा वैज्ञानिकरणका बारेमा आयोजित कार्यक्रममा सहभागीता जनाएर स्टल अवलोकन पनि गरेको छ। तीन दिने भ्रमणमा टोल सुधार समितिले विभिन्न ठाउँको भ्रमण गरि पर्यटन बिकासका मोडेलका विषयमा कुश्माका स्थानिय पर्यटन व्यवसायी नेत्र पराजुली लगायत अन्य पर्यटन समिति र स्थानिय नागरिकसँग औपचारिक तथा अनौपचारिक छलफल गरेको छ।
भ्रमण टोलीले बागलुङ जिल्लाको पञ्चकोट, बागलुङ कालिका, पर्वत जिल्लाको "द क्लिफ" बञ्जी जम्प, कास्की जिल्लाको घान्द्रुक, पुम्दिकोट लगायतका धार्मिक पर्यटकीय ठाउँको भ्रमण गरेको छ।