देवचुली,
माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण, जातीय पहिचान तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न प्रथम पिप्रहर माघी मेला लाग्ने भएको छ । नवलपुरको देवचुली नगरपालिका वडा नं १७ पिप्रहर सामुदायिक होमस्टे ग्राम र होटल, होमस्टे तथा पर्यटन व्यवसायी समितिको संयुक्त आयोजनामा प्रथम पिप्रहर माघी मेला गर्न लागिएको छ ।
आगामी पौष मसान्त देखि माघको २ गते सम्म ३ दिवसीय प्रथम माघी मेला गर्न लागिएको हो । शुक्रबार स्थानीय सरोकारवाला, पदाधिकारीहरूको छलफलबाट देवचुली १७ पिप्रहर गाउँमा मेला सञ्चालन हुने जनाइएको हो ।
मेलाको बारेमा जानकारी गराउँदै प्रथम पिप्रहर माघी मेला मूल समितिका संयोजक पलट प्रसाद चौधरीले माघी मेला आयोजना गरि ग्रामीण पर्यटनको प्रवर्द्धन हुने बताउँदै स्थानीय रैथाने कृषि उत्पादनलाई बढावा दिने, स्थानीय श्रम, सीपको सम्वर्द्धन गर्ने, परम्परागत खानाका परिकारहरू बिक्री गरि स्वरोजगारलाई टेवा दिने, आय आर्जन तथा जिविकोपार्जनको विकास गर्ने, खेलको विकास गरि युवाहरूको व्यक्तित्व विकास गर्ने र स्थानीय कलाकारलाई उजागार गर्ने मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।
प्रथम पिप्रहर मेलामा स्थानीय परम्परागत खानाका परिकारहरू बिक्रीका लागि प्रदर्शन गरिने, मेलाको अविध भर भलिबल प्रतियोगिता हुने, स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा मनोरञ्जन प्रदान गरिने, पाहुनाहरूलाई विशेष छुटको व्यवस्था र मेला अवधिभर जङ्गल सफारीको लागि विशेष छुट रहेको आयोजकले जनाएको छ ।