देवचुली
देवचुली ७ रामबास निवासी तीर्थराज न्यौपाने र भवानी न्यौपानेले भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय देवचुली ७ रामबासमा स्व. सर्मिला न्यौपाने ( गुलाटी ) स्मृति अक्षयकोष स्थापना गरेका छन्। न्यौपाने दम्पतीले आफ्नो छोरी स्व. सर्मिला न्यौपानेको स्मृतिमा २० लाख ५ सय ५५ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरि विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
बिधालय परिसरमा स्व. सर्मिला न्यौपाने स्मृति अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण एवं दाता सम्मान कार्यक्रम २०८० को आयोजना गरि उक्त रकमको चेक हस्तान्तरण गरिएको हो। विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछाने र प्रधानाध्यापक अग्निधर भुसालले संयुक्त रुपमा उक्त चेक ग्रहण गरेका थिए।
विद्यालयका प्रधानाध्यापक भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लामिछानेको अध्यक्षता सँगै गण्डकी प्रदेशका माननीय सांसद एवं संविधान सभा सदस्य रोशन बहादुर गाहाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाहाले स्वर्गीय न्यौपानेलाई श्रद्धाञ्जली अर्पण गर्दै विपन्न तथा गरिब विद्यार्थीहरूको लागी यसले सहयोग पुर्याउने भएकाले आभार व्यक्त गरेका थिए।
विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले आफ्नो भनाई राख्दै स्व. सर्मिला न्यौपाने स्मृति अक्षयकोष जिल्लामा ठुलो राशिको अक्षयकोष भएको दावी गर्दै यस्तो पुण्य कार्यमा सहयोग गर्ने अभिभावकलाई धन्यवाद व्यक्त गर्दै अक्षयकोषलाई सही तरिकाले परिचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रुद्र शर्मा , देवचुली नगर शिक्षा प्रमुख राम प्रसाद शर्मा , देवचुली ७ का वडा अध्यक्ष भुमिसरा आले , स्वर्गीय सर्मिला न्यौपानेको अभिभावक , बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरू , शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले अक्षयकोषलाई सही तरिकाले सदुपयोग गर्न आग्रह गर्दै स्वर्गीय न्यौपानेलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।