देवचुली
२९ औँ जिल्ला स्तरीय पुरुष तथा पाँचौ खुल्ला महिला भलिबल प्रतियोगिता २०८० आज सम्पन्न भएको छ। पुसे १५ को अवसरमा युवा तथा खेलकुद विकास समिति देवचुली ९ को आयोजनामा आयोजित भलिबल प्रतियोगिताको रोमाञ्चक फाइनल खेलहरू सम्पन्न भए सँगै प्रतियोगिता समापन भएको हो।
आज सम्पन्न फाइनल खेल बाट पुरुष तर्फ बौदिकाली गाउँपालिका प्रथम , मध्यबिन्दु नगरपालिका द्वितीय र देवचुली नगरपालिका तृतीय भएका छन्। यो सँगै बिजयी समुहहरुले क्रमश नगद ७५ हजार , ४० हजार र २० हजारको साथमा मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन्।
यो सँगै आजै भएको महिला तर्फको फाइनल खेलमा देवचुली नगरपालिका प्रथम , पृथ्वी माध्यमिक विद्यालय द्वितीय र कावासोती नगरपालिका तृतीय भएका छन्। यो सँगै बिजयी समुहहरुले क्रमश नगद २५ हजार , १५ हजार र १० हजारको साथमा मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन्। गत पौष १० गते बाट सञ्चालित प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरुष तर्फ बौदिकाली गाउँपालिकाका अशोक श्रेष्ठ र महिला तर्फ देवचुली नगरपालिकाका प्रियङ्का राना उत्कृष्ट खेलाडी हुन सफल भएका छन्।
यो सँगै दुवै खेलाडीलाई जनही नगद २ हजार ५ सय प्रदान गरिएको छ। समितिका अध्यक्ष कृष्ण बहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवचुली नगरपालिकाका मेयर हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर न्यौपानेले यसरी खेलकुद प्रतियोगिताको आयोजना गर्दा खेलाडीहरूको लागी आफ्नो कौशलता प्रदर्शन गर्ने प्लाटफर्म मिल्ने भएकाले आयोजकलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता प्रतियोगिता सञ्चालनको लागी नगरपालिकाले सँधै सहयोग गर्ने बताएका थिए।
अध्यक्ष आलेले सम्पूर्ण सहयोगी व्यक्ति तथा खेल प्रेमी व्यक्तिहरूलाई प्रतियोगिता सम्पन्न गर्न सहयोग पुराएकोमा खुसी व्यक्त गर्दै यस प्रतियोगिताले प्रतिभावान् खेलाडीहरूलाई पहिचान गर्न सहज भएको बताएका थिए। आज सोमबार सम्पन्न समापन कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्षहरू , देवचुली खेलकुद विकास समितिका पदाधिकारीहरू , स्थानीय संघ संस्थाका पदाधिकारीहरूको आतिथ्यता रहेको थियो भने सयौँ खेलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो।