देवचुली,
देवचुली ११ को महिला कल्याण बहुउद्धेश्यीय सहकारी संस्थाले स्थापनाको २५ औँ वार्षिक साधारण सभा एवम् रजत जयन्तीको अवसरमा देवचुली ११ मा इकाइ साधारण सभा सम्पन्न गरेको छ । सोमबार देवचुलीको धारापानी खेलमैदानमा देवचुली वडा नं ११ को इकाइगत साधारण सभा सम्पन्न गरेको हो । रजत जयन्तीको अवसरमा संस्थाले गत पौष १२ गते देखि इकाइगत वार्षिक साधारण सभा कार्यक्रम गर्दै आइरहेको छ ।
वि.सं २०५६ सालमा ८१ जना महिलाहरुको सक्रियतामा स्थापना भएको उक्त संस्थामा हाल चौबिस सय भन्दा बढि शेयर सदस्य रहेका छन् । २०८० सालमा आइपुग्दा ४८ लाख १८ हजार ९ सय ६२ रुपैंया संस्था नाफामा रहेको छ । संस्थाले यस क्षेत्रका शेयर सदस्य महिला दिदीबहिनीहरुका क्षेत्रमा रहेर सहकारीलाई अगाडि बढाइरहेको छ । सहकारीकै माध्यमबाट महिलाहरुलाई बेला–बेला नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिमहरु पनि संचालन गर्दै आइरहेको छ ।
सोमबार देवचुली ११ को ईकाइगत साधारण सभा कार्यक्रममा देवचुली ११ का वडाध्यक्ष एवम् नगरप्रवक्ता तिल प्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष रत्नामाया विश्वकर्माको अध्यक्षता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष विश्वकर्माले आगामी २०८०/०८१ को अनुमानित बजेट
र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका देवचुली ११ का वडाध्यक्ष काफ्लेले महिला दिदीबहिनीहरुको नेतृत्व विकासका लागि संस्थाले विगतका दिनहरु देखि नै विभिन्न उदहारणीय कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताउनुभएको थियो । उहाँले महिलाहरु पनि सहकारीको माध्यमबाट अगाडि बढ्न सक्ने बताउँदै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा महिला कल्याण बहुउद्धेश्यीय सहकारी संस्थाका लेखा संयोजक शान्ति चापागाईले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विमला अधिकारी, देवचुली वडा नं १२ का वडासदस्य एवम् कार्यपालिका सदस्य फूलमाया वि.क, वडासदस्य बेलिमाया पुलामी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
महिला बहुउद्धेश्यीय सहकारी संस्थाका अमृता पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सह–सचिव गीता न्यौपाने भुसालले गर्नुभएको थियो । रजत जयन्तीको अवसरमा संस्थाले गत पौष १२ गते देखि २१ गते सम्म विविध कार्यक्रमहरु गरि मनाइरहेको छ ।