देवचुली
संस्था स्थापनाको २५ बर्ष अर्थात् रजत जयन्ती मनाईरहेको महिला कल्याण बहुउद्धेश्यीय सहकारी संस्थाले रजत जयन्तीका कार्यक्रम अन्तर्गत वक्तृत्वकला सम्पन्न गरेको छ। नवलपुरको देवचुली ११ मा रहेको संस्थाले आइतबार संस्थाको सभाहलमा सो कार्यक्रम सम्पन्न गरेको हो। देवचुली नगरपालिकाभित्रका सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुबीच "सहकारी शिक्षा आजको आवश्यकता" विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । जसमा ५ सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सहभागी विद्यालयहरुमध्ये सकलादेवि माध्यमिक विद्यालयकी छात्रा स्वर्णिमा रेग्मी प्रथम, नेपाल नमूना माध्यमिक विद्यालयकी शुवासना ढकाल द्वितीय, दिव्यज्योति आधारभुत विद्यालयकी रेसिका भुर्तेल तृतीय भएका छन् । यसैगरी भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयकी स्पर्श डिसुवा चौथो र पशुपति साङ्गवेद संस्कृत आवासीय माध्यमिक विद्यालयका शंकरमणी पोख्रेल पाँचौ हुन सफल भएका छन् । प्रतियोगिताका निर्णायकका रुपमा जिल्ला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमनाथ जैसी, देवचुली बहुउद्देश्यीय सहकारी संस्थाका सचिव नारायणप्रसाद पौडेल र पारदर्शी वचत तथा ऋण सहकारी संस्था (परोपकार साकोस हुँदै हाल मध्य नेपाल) का पूर्व सचिव इन्द्रमणी भुसाल रहनुभएको थियो। प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई रजत जयन्तीको समापानका दिन पौष २१ गते संस्थाले पुरस्कृत गर्नेछ ।
वक्तृत्वकला प्रतियोगिताको अध्यक्षता संस्थाका अध्यक्ष रत्नामाया विश्वकर्माले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले सहकारीले वचत संकलन र ऋण प्रवाह मात्रै नभई विद्यार्थीहरुको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले सहकारीको आवश्यकता र महत्वको विषयमा बालबालिकाले वक्तृत्वकला प्रतियोगिताबाट थप कुरा सिक्न पाएकाले यस्ता प्रकृतिका कार्यक्रम फलदायी हुने बताउनुभयो । कार्यक्रममा आफ्ना भनाई राख्दै संस्थाका अध्यक्ष विश्वकर्माले कक्षा ८ को पाठ्यक्रममा सहकारीको विषयमा पढाइने हुँदा पनि विद्यार्थीलाई थप जानकारी होस् भन्ने उद्धेश्यले संस्थाको रजत जयन्तीको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षद्वय उमा आचार्य र विमला अधिकारी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
वक्तृत्वकला प्रतियोगिताको सहजीकरण संस्थाका सचिव फूलमाया विश्वकर्माले गर्नुभएको थियो । रजत जयन्तीको अवसरमा संस्थाले पौष १२ गते देखि २१ गते सम्म विविध कार्यक्रमहरु गरि मनाइरहेको छ । संस्थाले हालसम्म रजत जयन्तीका कार्यक्रम अन्तर्गत वडा नं १ देखि ९, १०, १२, १४,१६ र १७ को इकाई वार्ड साधारण सभा सम्पन्न गरिसकेको छ ।