देवचुली
२९ औँ जिल्ला स्तरीय पुरुष तथा पाँचौ खुल्ला महिला भलिबल प्रतियोगिता २०८० मा आज शुक्रबार ४ खेल सम्पन्न भएको छ। पुसे १५ को अवसरमा युवा तथा खेलकुद विकास समिति देवचुली ९ को आयोजनामा घुमाउरी पिकनिक स्पटमा उक्त भलिबल प्रतियोगिताको आयोजना गरिएको हो।
लिग चरणमा सञ्चालित यस प्रतियोगितामा बुलिङ्गटार गाउँपालिका, देवचुली नगरपालिका , बौदिकाली गाउँपालिकाले जित निकालेका छन्। आज सम्पन्न भएको खेलमा बुलिङ्गटारले गैंडाकोटलाई , देवचुलीले आयोजकलाई , बौदिकालीले हुप्सेकोट र मध्यबिन्दुलाई पराजित गरेको हो।
आयोजकका अनुसार प्रतियोगितामा जिल्लाका ८ वटा पालिकाको ८ वटा र आयोजक १ गरि ९ पुरुष समुह र महिला तर्फ जिल्लाका ८ वटा पालिका सहित अन्य ४ समूह गरि जम्मा १२ वटा समुहबीच नक आउटका चरणमा खेल हुने समितिका अध्यक्ष कृष्ण बहादुर आलेले बताएका छन्।
अध्यक्ष आलेका अनुसार पुरुष भलिबल प्रतियोगितामा क्रमश प्रथम , द्वितीय र तृतीय हुने समुहले नगद ७५ हजार , ४० हजार र २० हजारको साथमा मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् भने महिला तर्फ क्रमश प्रथम , द्वितीय र तृतीय हुने समुहले नगद २५ हजार , १५ हजार र १० हजारको साथमा मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट पुरुष तथा महिला खेलाडीलाई जनही नगद २ हजार ५ सयले पुरस्कृत गरिनेछ। भोलि शनिबार बिहान ११ बजे देखि महिला समुहको बीच खेल हुने आयोजकले जानकारी दिएको छ।