देवचुली,
२९ औँ जिल्ला स्तरीय पुरुष तथा पाँचौ खुल्ला महिला भलिवल प्रतियोगिता २०८० देवचुलीमा सुरु भएको छ । पुसे १५ को अवसरमा युवा तथा खेलकुद विकास समिति देवचुली ९ को आयोजनामा आयोजित भलिवल प्रतियोगिता देवचुली ९ को घुमाउरी पिकनिक स्पर्टको खेलमैदानमा मंगलबार देखि सुरु भएको छ ।
प्रतियोगिताको समुद्घाटन देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको थियो । पुष १० गते देखि सुरु गरिएको भलिबल प्रतियोगिता आगामी १५ गतेसम्म संचालन गरिनेछ । यस क्षेत्रको भलिवल खेल संरक्षण र खेलाडीको उत्पादनका लागि प्रत्येक बर्ष भलिवल प्रतियोगिता संचालन गरिदै आइरहेको प्रतियोगिताका संयोजक एवम् खेलकुद विकास समिति देवचुली ९ का अध्यक्ष कृष्ण बहादुर आलेले जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका नगर प्रमुख न्यौपानेले खेलकुदको क्षेत्रमा नगरपालिका सधैं सकारात्मक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय देवचुलीमा धेरै खेलाडी उत्पादन भइरहेकोले खेलाडीको प्रोत्साहनका लागि नगरपालिकाले सधैं साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, खेलकुद विकास समिति देवचुलीका अध्यक्ष चन्द्र बहादुर थापा मगर, देवचुली ९ का वडाध्यक्ष बलिराम सापकोटा, देवचुली १० का वडाध्यक्ष रेप्ती कुमार घर्ती, वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेल, कार्यापालिका सदस्य, वडा सदस्य लगायत विभिन्न संघ संस्था एवम् खेलप्रेमीको उपस्थिति रहेको थियो ।
देवचुली ९ का वडा सदस्य विष्णुबहादुर खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा गणेश पाण्डे पाण्डेले सहजीकरण गर्नुभएको थियो । युवा तथा खेलकुद विकास समिति देवचुलीको सहकार्य रहेको भलिवल प्रतियोगितामा देवचुली वडा नं ९ को वडा कार्यालयको समन्वय रहेको थियो । यो संगै आज भएको उद्घाटन खेलमा पहिलो जित निकाल्दै कावासोती अर्को चरणमा प्रवेश गरेको छ।