गैंडाकोट
गैंडाकोट १६ मा रहेको युनिक सेकेन्डरी इङ्गलिस स्कुलमा एनसीसी क्याडेटलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बद्रि प्रसाद सापकोटाको अध्यक्षता तथा राष्ट्रिय सेवा दल हात्तिखोरका प्रमुख सेनानी वासु शरण खड्काको प्रमुख आतिथ्यता रहेको थियो।
राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कोहलपुरमा सञ्चालित ४९ औँ जुनियर डिभिजनको पहिलो वार्षिक सामूहिक क्याम्पमा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको नाम राष्ट्रिय स्तरसम्म चिनाउन सफल भएका सम्मान कार्यक्रमको आयोजना गरिएको थियो। क्याम्पमा ११ वटा जिल्लाबाट ५ सय ३९ क्याडेटहरू मध्य यस विद्यालयले सबै भन्दा धेरै १५ वटा दर्ज्यानी प्राप्त गरेको थियो।
प्राप्त दर्ज्यानी मध्ये सबै भन्दा ठुलो पद एस यु ओ १ , प्लाटुन जे यु ओ १ , हवल्दार मेजर १ , हवल्दार ३ , नायक ३ र लेस नायक ६ जनाले प्राप्त गरेका थिए। क्याडेट रोशनी सारु क्याम्पमा सहभागी ५ सय ३९ मध्ये उत्कृष्ट बन्दै एस यु ओ दर्ज्यानी प्राप्त गरेकी थिइन् भने क्याडेट सान्या गुरुङले प्लाटुन जे यु ओ , साधना शर्माले हवल्दार मेजर , परिमल शाही , जुनु तामाङ्ग र कृष्मा तिवारी गरि तिन जनाले हवल्दार , वर्षा अधिकारीको साथमा सदीक्षा बिक र रीतिका रानाभाटले नायक र ५ जना क्रमश आशिका गुरुङ , सम्वृद्धि गुरुङ , रेयान गुरुङ , असिम राना मगर , प्रज्ज्वल शाही ठकुरी र डेविड रसाइलीले लेस नायकको दर्ज्यानी प्राप्त गरेका थिए।
विद्यालयमा अध्ययनरत ३६ जना छात्र छात्राहरुले कोहलपुर क्याम्पमा भएको नृत्य प्रतियोगितामा शान्ति लुकाउँ कहाँ बोलको गीत द्वितीय , वक्तृत्वकला प्रतियोगितामा वर्षा अधिकारी तृतीय र वेस्ट छात्रा क्याडेटको अवार्ड रोशनी सारुले प्राप्त गरेका थिए। यो सँगै क्याडेट रोशनी सारुले एनसीसीमा रही विभिन्न देश विदेशका कार्यक्रममा सहभागी हुन पाउनेछिन्।
आजको कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि खड्काले यो एनसीसी तालिमको मुख्य उद्देश्य भनेको विद्यार्थीहरूमाझ अनुशासन, नेतृत्व क्षमताको विकास, बफादारिता तथा इमान्दारिता साथै उनीहरूमा राष्ट्रिय एकताको भावना, विपद व्यवस्थापन तथा उद्धार कार्यमा स्वयम्सेवक युवा तयार पार्ने रहेको बताउनुभएको थियो।
क्याडेट कृष्मा तिवारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा आफ्नो भनाई राख्दै प्रिन्सिपल राम शर्माले विद्यार्थीहरूले १ सय दिनको प्रशिक्षणमा सिकेका कुराहरूले उनीहरूको जीवनमा आमूल परिवर्तन आउने कुरामा आफू विश्वस्त रहेकाले सम्पूर्ण क्याडेटहरुलाई विद्यालयको नाम जस्तै काम पनि युनिक गरेको भन्दै एनसीसीको सुरुवात देखि आज सम्मका आरोह अवरोहहरुलई प्रस्तुत गर्नुभएको थियो।
विद्यालयका विद्यार्थीहरूले वाद्यवादन सहित राष्ट्रगान प्रस्तुत गरको थिए भने क्याडेट वर्षा अधिकारीले २१ दिनको क्यामको अनुभव प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा जर्साव शंकर खड्का , बिधालय व्यवस्थापन समितिका सदस्य सृजना कँडेल सहित ओमराज गुरुङ , भगवान पुरी , निर्मला रामदाम , सिता भण्डारी , एनसीसी क्याडेट सहित अभिभावक हरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उत्कृष्ट दर्ज्यानी प्राप्त गर्ने बिधार्थी तथा एनसीसी क्याडेटहरुलाई अभिभावकको साथमा सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो।