देवचुली
नवलपुरको देवचुलीमा रहेको मध्य नेपाल साकोस गण्डकी प्रदेशकै उत्कृष्ट साकोस बनेको छ। आज शनिबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको ३६ औं स्थापना दिवस तथा ३२ औं वार्षिक साधारण सभाको अवसरमा मध्य नेपाल साकोसलाई सम्मान गरिएको हो। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरु भएको नेफ्स्कूनको ३२ औं वार्षिक साधारण सभामा मध्य नेपाल साकोसका अध्यक्ष तुलमणि पौडेल सहितको टोलीले प्रशंसा पत्र ग्रहण गरेका थिए।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता तथा पूर्व मन्त्री, संविधान सभा सदस्य एवम् राष्ट्रिय सहकारी महासङ्घका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्ने वक्ताहरूले साकोस अभियानको शुद्धीकरण र सबलीकरणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा नेकपा एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारी, नेपाली कंग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कडेल, नेकपा माओवादीका सहकारी विभाग प्रमुख लिलामणि पौडेल , भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी , सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे लगायत देशै भरिका साकोसका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई महासचिव दामोदर अधिकारीले सहजीकरण गरेका थिए।
यो सँगै मध्ये नेपाल सकोसका अध्यक्ष अध्यक्ष तुलमणि पौडेलले संस्थाका सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, उप समिति तथा कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरेका थिए। पौडेलले प्रदेशकै उत्कृष्ट हुनुमा खुसी सँगै थप जिम्मेवारी पनि थपिएकाले साकोसको यो उपलब्धिलाई बरकरार राख्दै अझ उत्कृष्ट बन्न साकोसले हरदम प्रयास गर्ने बताएका थिए।