मध्यबिन्दु
आगामी माघ २७ गतेबाट राष्ट्रिय स्तरको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। नवलपुरको मध्यबिन्दु नगरपालिका २ कोल्हुवास्थित राइनो खेलमैदानमा राइनो क्लवको आयोजनामा राइनो संरक्षण गोल्डकप सञ्चालन गर्न लागिएको शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको छ।
विगत २ दशक पुरानो राइनो कप फुटबल प्रतियोगिताको परिस्कृत र परिमार्जित अवधारणाको राष्ट्रिय स्तरको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७० सालबाट सञ्चालन गरिए पनि कोरोना महामारीमा स्थगित भएको थियो।
माघ २७ देखि फाल्गुन ९ गतेसम्म सञ्चालन हुने राइनो गोल्डकपमा विभागिय टिम सहित ए डिभिजनका ५ टिम र गण्डकी, लुम्बिनी, बागमती, मधेश प्रदेश र आयोजकसहित करिव ७ टिम गरि जम्मा १० देखि १२ टिमको सहभागितामा गोल्डकप सञ्चालन हुने संरक्षक संस्था नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमन भण्डारीले जानकारी दिनुभयो। उहाँले प्रतियोगिता सञ्चालनका लागि करिव ७० लाख खर्च हुने अनुमान गरिएको बताउनुभयो।
प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले ५ देखि १० लाख र शिल्ड तथा प्रत्येक खेलको उत्कृष्ट खेलाडीले ५ हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र सर्वाधिक गोलकर्ताले १० हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो। पत्रकार सम्मेलनमा आफ्ना भनाई राख्नुहुँदै राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले लामो इतिहास र विरासत बोकेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुनु गर्वको कुरा भएको बताउँदै प्रतियोगिताका लागि खेलकुद परिषद्को सहयोग रहने बताउनुभयो। उहाँले आँफू यस क्षेत्रको स्थानिय समेत रहेकाले प्रतियोगितालाई स्थानिय कै नजरले हेर्ने बताउनुभयो।
मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले स्थानिय खेलाडी उत्पादन गर्नु आफ्नो र नगरपालिकाको प्राथमिकता रहे पनि राइनो कपको निरन्तरता र बिकासका लागि नगरपालिका सकारात्मक रहेको बताउनुभयो । उहाँले खेलकुद शिक्षासँग जोडिएको विषय भएकाले यसको विकासका लागि तिनैतहका सरकारले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो।
पत्रकार सम्मेलनमा आयोजक संस्था राइनो क्लवका पदाधिकारी, नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारी, मध्यबिन्दु नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरी, वडा नं १,२,३ र ४ का वडाध्यक्षहरु क्रमशस् तिलकराम न्यौपाने, रामभक्त अधिकारी, मानबहादुर महतो, डिल्लिराम थारु लगायत मध्यबिन्दु नगरपालिकाका खेलप्रेमी वुद्धिजिवीहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण राइनो क्लवका सदस्य पूण्यप्रसाद बस्यालले गर्नुभएको थियो।