देवचुली
पछिल्लो समय नेपालमा रहेका सामुदायिक विद्यालयहरूले भौतिक सँगै शैक्षिक क्षेत्रमा समेत आफूलाई अब्बल बनाउँदै आइरहेको छ। यसमा पनि नवलपुर जिल्ला आफैमा फरक पहिचान भएको जिल्ला अन्तर्गत पर्दछ। राष्ट्रिय रुपमा विद्यालयहरूमा आमूल परिवर्तन आइरहँदा यस क्षेत्रमा रहेका विद्यालयहरूले त्यसमा सोपान थप्ने काम गरेका छन्।
जिल्लामा रहेका विभिन्न यस्ता विद्यालयहरूको कुरा गर्ने क्रममा देवचुली ७ रामबासमा रहेको भीमसेन आदर्श नमुना माविलाई नचिन्ने त कमै होलान्। देवचुलीको मुटुमा रहेको यस विद्यालयले पछिल्लो समय शैक्षिक क्षेत्रमा नाम चलेका यस क्षेत्रका संस्थागत विद्यालयहरूलाई पछि पार्दै आफ्नो फरक पहिचान कायम गरिसकेको छ।
विद्यालयको भौतिक क्षेत्रलाई हेर्ने हो भने पनि चिटिक्क परेको सुविधासम्पन्न भवन सँगै यस क्षेत्रकै ठुलो खेल मैदान समेत रहेको छ। यसै कारणले देवचुली नगर भित्रको मात्र नभई छिमेकी पालिकाका हजारौं बिधार्थिहरुको लागी समेत अध्ययनको लागी प्राथमिकतामा पर्दै आएको छ। विद्यालयमा आएका विद्यार्थीहरूले पनि वर्तमान समयको माग अनुरूप विज्ञान र प्रविधिको प्रतोग गरि नयाँ धारमा विषयवस्तुहरू सिक्ने गरेका छन्।
हाल विद्यालयमा डाइनामिक एकेडेमिक इ आर पी प्रणालीको प्रयोग गरिएको छ भने विद्यालयले डिजिटल शिक्षा र सिकाईलाई प्राथमिकता दिँदै आइरहेको छ। विद्यार्थीहरूको लागी ९० भन्दा बढी कम्प्युटर सहितको कम्प्युटर ल्याब सँगै हरेक शिक्षकलाई ल्यापटप उपलब्ध गराइको र कक्षा कोठामा प्रोजेक्टर र व्हाइट बोर्डको प्रयोग गरिंदै शिक्षण क्रियाकलाप छ।
यसै कारण यहाँका बिधार्थीहरुले शैक्षिक तथा विविध विधामा जिल्लामा नै उत्कृष्ट नतिजा दिँदै आएका छन् र विद्यालयले स्थानीय देखि राष्ट्रिय स्तर सम्म सम्मान प्राप्त गरिसकेको छ। यसै क्रममा आज पौष ६ गते काठमाण्डौमा सम्पन्न एक कार्यक्रममा यस बिधालय सम्मानित भएको छ।
नेपाल भरि रहेका सामुदायिक विद्यालय अन्तर्गत नेपालकै दोस्रो बन्दै भीमसेन आदर्श नमुना माविले डिजिटल ईसिटी अवार्ड २०२३ जित्न सफल भएको हो। अवार्ड वितरणको लागी बनेको सूचकहरू मध्ये यस विद्यालयले अधिकांश सूचकहरू पुरा गरेका कारण यस अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले हेर्नेपाटीलाई बताएका छन्।
आईसीटी अवार्ड नेपालको प्रतिष्ठित पुरस्कार मध्ये एक हो, जुन सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उत्कृष्ट उपलब्धि र उत्कृष्टताका लागि व्यक्ति, नवप्रवर्तन र संस्थाहरूलाई प्रदान गरिन्छ। यस वर्ष सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रतिष्ठित अवार्डको रुपमा चिनिने आईसीटी अवार्डको आठौं संस्करण हो।