देवचुली,
पशुपति वैदिक आश्रम देवचुली १५ प्रगतिनगरमा बुधबार देखि द्धितीय अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवम् शतचण्डी धन धान्याचल ज्ञान महायज्ञ सुरु भएको छ। धन धान्याचलका लागि प्रमुख संरक्षक अध्यक्ष गुरु संहिता शास्त्री अर्जुनप्रसाद वास्तोला, पीठाधीश श्री १००८ स्वामी स्वरुपानन्द सरस्वतीजी महाराज, प्रमुख सल्लाहकार धर्मराज बराल लगायतको सहभागीतामा सन्त सम्मेलनको समुद्घाटन गरिएको हो । सन्त सम्मेलन समुद्घाटन कार्यक्रममा देवचुली नगरपालिका वडा नं १०, १३ १४, १५ र कावासाेती नगरपालिका वडा न ११ का विभिन्न आमा समूह, संघसंस्थाका पदाधिकारी, विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । यसैगरि कार्यक्रममा पूर्व महासम्पादन संयोजक विष्णु बास्तोला, देवचुली नगरपालिका वडा नं १० का वडाध्यक्ष रेप्ती कुमार घर्ती, वडा नं १५ का वडाध्यक्ष सुरेश कुमार रानाभाट लगायतको उपस्थिति रहेको थियो ।
पशुपति वैदिक आश्रम शिवालय परिसर देखि सुरु भएको शोभा यात्रा मन्दिरको गेट हुँदै धौलागिरी चोक, जनज्योति मार्ग, प्रगतिनगर बजार हुँदै भटार चोकबाट जनज्योति आधारभूत विद्यालय निस्किएर गौरीशंकर टोलबाट पुन: आश्रम पुगेका थिए । शोभायात्रा कार्यक्रम पश्चात धन धान्याचल पर्वतमा धान खन्याई सन्त सम्मेलनको शुभारम्भ गरिएको थियो ।
राष्ट्र र विश्वशान्तिको कामना गर्दै समग्र पक्षको स्तरोन्नती एवम् समाजका निम्ति संस्थाले वार्षिक रुपमा धन धान्याचल महायज्ञ गर्न लागेको हो। कार्यक्रमको अध्यक्षता यज्ञ सम्पादन मूल समितिका संयोजक जीवन राज अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पीठाधीश श्री १००८ स्वामी स्वरुपानन्द सरस्वतीजी महाराजले हरेक बर्ष सन्त सम्मेलन गर्न पाउनु निकै राम्रो कार्य भएको भन्दै सम्पूर्णलाई दैनिकरुपमा सहभागी भई सफल पार्न आग्रह गर्नुभएको थियो ।
वि.सं २०४६ साल देखि संस्कृत विद्यालय गुरुकुलीय परम्पराले चलिरहेको संस्थामा हाल ८० जना विद्यार्थीलाई आवास एवं भोजनको व्यवस्था गरिरहेको छ । संस्थाका निर्माण कार्य अन्तर्गत रहेका मंदिर, गुरु समाधि, संतनिवास, भक्त निवास, पाठशाला, यज्ञशाला, गौशाला, लगायतको गुरु योजनाका निम्ति सहयोग संकलनका लागि हरेक बर्ष महायज्ञ संचालन गर्नुपर्ने बाध्यतमक परिस्थति रहेको पशुपति साङ्गवेद आवसीय संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त भट्टराईले बताउनुभयो ।
आज पहिलो दिन यज्ञ सम्पादन मूल समितिका सह–संयोजक क्यापटेन शेर बहादुर के.सीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव होमनाथ जैसीले गर्नुभएको थियो ।
पुस ४ गते बुधबार देखि १० गते सोमबार सम्म पशुपति वैदिक आश्रम प्राङ्गण, शिवालय मन्दिरमा महायज्ञ हुनेछ ।