काठमाडौँ
त्रिभुवन विश्वविद्यालयको स्नातक, स्नातकोत्तर र एमफिल तहमा २०७७ र २०७८ सालमा सर्वोत्कृष्ट नतिजा ल्याएर पदक–पुरस्कार पाउनेमा छात्राको संख्या धेरै रहेको छ । सोमबार दशरथ रंगशालामा हुने त्रिविको ४९ औं दीक्षान्त समारोहमा २७ वटा पदक र पुरस्कार वितरण हुँदै छ ।
त्यसमा १६ वटा छात्राहरूले मात्रै पाउँदै छन् । तीमध्ये एकै छात्रले ३ पदक र पुरस्कार पाउँदै छन् भने ५ जनाले २/२ पदक र पुरस्कार हात पार्नेछन् । पाँचमध्ये पनि २/२ वटा पदक र पुरस्कार पाउने ४ जना छात्रा हुन् ।
त्रिविले दीक्षान्त समारोहमा एमए अर्थशास्त्रमा सर्वप्रथम एक छात्रलाई ३ वटासहित र स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट ५ जना छात्रछात्रालाई २/२ पदकसहित पुरस्कृत गर्ने भएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार अर्थशास्त्र केन्द्रीय विभागका छात्र कपिल पोखरेलले ३ वटा पदक र पुरस्कार पाउँदै छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले ५ छात्रछात्राले २/२ पदक पाउने जनाए ।
व्यवस्थापन संकायअन्तर्गत एमफिल तहमा ४ मा ४ जीपीए ल्याउने छात्र किशोरकुमार गौतमले त्रिवि प्राध्यापक संघका सहिद उपप्राध्यापक ‘हरिराज अधिकारी स्वर्ण पदक’ पाउँदै छन् । उनले २०७८ सालको दीक्षान्त पदक पाउने कार्यालयले जनाएको छ । तीन पदक पाउने पोखरेलले एमए अर्थशास्त्रमा ३.७७ जीपीए प्राप्त गरेका थिए । उनले तारापद चौधरी, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पाउँदै छन् ।
स्नातकोत्तरतर्फ २०७७ सालको पदक वितरण हुनेछ । ख्वपः कलेज भक्तपुरबाट एमए अंग्रेजी साहित्यमा सर्वप्रथम पलिस्था रञ्जितकारले २ पदक पाउँदै छिन् । ३.९१ जीपीए प्राप्त उनले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखें स्वर्ण पदक पाउने कार्यालयले जनाएको छ । एबीएस परीक्षामा सर्वप्रथम ममता सापकोटाले दुई पदक र पुरस्कार प्राप्त गर्ने भएकी छन् । बालकुमारी कलेज चितवनकी छात्रा उनले ३.८७ जीपीए ल्याउँदै रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार र नबिल बैंक सरदार गुञ्जमान सिं स्वर्ण पदक हात पार्दै छिन् ।
राजनीतिकशास्त्र केन्द्रीय विभागबाट एमएमा सर्वप्रथम अविनभ आचार्यले ललित चन्द पुरस्कार र बडाकाजी मरिचमान सिंह पदक प्राप्त गर्नेछन् । उनले राजनीतिकशास्त्र विषयमा ३.८२ जीपीए प्राप्त गरेका थिए । हिमांशु दाहाल स्मृति पुरस्कार र शिल्पा बिष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार यसपालि शर्मिला रिजालले पाउने भएकी छन् । उनी शिक्षाशास्त्र संकायकी छात्रा हुन् । रिजालले ३.५६ जीपीए प्राप्त गर्दै एमएड तहमा गणित विषयमा सर्वप्रथम हुँदै उक्त तहमा छात्राहरूमध्येबाट पनि सर्वोत्कृष्ट बनेकी थिइन् ।
अमृत पदक भने ३.९५ जीपीए ल्याउने छात्र हिक्मत खनालले प्राप्त गर्ने भएका छन् । रसायनशास्त्र केन्द्रीय विभागबाट एमएस्सीमा उनी सर्वोत्कृष्ट बनेका थिए । वातावरण केन्द्रीय विभागकी सुष्मा तिम्सिनाले मदनविद्या वातावरण विज्ञान पुरस्कार र पदक हात पार्दै छिन् । उनले एमएस्सी वातावरण विज्ञानमा ३.८४ जीपीए प्राप्त गरेको कार्यालयले जनाएको छ । शान्ति नारायण मिश्र पदक पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागबाट ३.९२ जीपीए ल्याउने अन्जु श्रेष्ठले पाउँदै छिन् । जैविक प्रविधि केन्द्रीय विभागबाट विनोद खड्काले ३.८९ जीपीए प्राप्त गरेर सर्वप्रथम बन्दै डा. रेखा लक्षमैया श्रीराम स्वर्ण पदक ग्रहण गर्दै छन् ।
अन्तर्राष्ट्रिय सम्बन्धन तथा कूटनीति विषयमा ३.७९ जीपीए ल्याउने रिकेश महर्जनले डा. दुबसु क्षत्री स्वर्ण पदक पाउने कार्यालयले सार्वजनिक गरेको पदक सूचीमा उल्लेख छ । वनस्पतिशास्त्र विषयमा केन्द्रीय विभागबाट छात्रा दीपा पनेरुले पदक पाउनेछिन् । उनले ३.७७ जीपीए प्राप्त गर्दै इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक पाउने भएकी हुन् । समाजशास्त्र केन्द्रीय विभागबाट सोही विषयमा सर्वप्रथम दिलासा श्रेष्ठले सुमन रिजाल पदक हात पारेकी हुन् । उनले समाजशास्त्रमा ३.७६ जीपीए ल्याएको उल्लेख छ ।
स्नातकतर्फ २०७८ सालको पदक वितरण गर्न लागिएको हो । मानविकी संकायतर्फ ३ वर्षे बीए (स्नातक तह) मा सर्वप्रथम भएकी अस्मिता घिमिरेले पनि दुई पदक र पुरस्कार हात पार्दै छिन् । हेराल्ड इन्टरनेसनल कलेजबाट उनले ७७.७९ जीपीए प्राप्त गरेकी थिइन् । स्नातक तहको परीक्षामा सर्वोत्कृष्ट अस्मिता गैरेले भाइस चान्सलर पदक पाउने त्रिविले जनाएको छ । पक्लिहवा क्याम्पस भैरहवाबाट उनले २०७८ को परीक्षामा ८८.२५ प्रतिशत अंकसहित विशिष्ट श्रेणी सफलता प्राप्त गरेकी थिइन् । व्यापार प्रशासन (बीबीए) मा ३.९५ जीपीए प्राप्त गर्दै सर्वप्रथम आरती सिम्खडाले पनि पदक पाउँदै छिन् । शंकरदेव क्याम्पसकी छात्रा सिम्खडाले भ्याइथ सत्य माँ स्मृति स्वर्ण पदक जितेकी हुन् ।
होटल म्यानेजमेन्ट (बीएचएम) मा सर्वप्रथम गोल्डेनगेट इन्टरनेसनल कलेजका छात्रा सरिता खड्की (३.९३) जीपीएले प्रितम चित्रकार पुरस्कार पाएकी छन् । कानुन (बीएलएलबी) मा ३.६८ प्राप्त प्रितम घिमिरेले लोकराज ज्ञवाली स्वर्ण पदक पाएका छन् । उनी नेसनल ल कलेजका विद्यार्थी हुन् । बीई सिभिल इन्जिनियरिङमा सर्वप्रथम पुल्चोक क्याम्पसका छात्र आरोश दाहालले ८६.३२ प्रतिशत ल्याई शिवराज पन्त स्मृति पुरस्कार प्राप्त गरेका छन् । बीएडमा महिलातर्फ सर्वप्रथम मनुषा चौलागार्इं (६८.५० प्रतिशत) ले सुशीलादेवी शर्मा पुरस्कार पाउने कार्यालयले जनाएको छ । उनी सानोठिमी बहुमुखी क्याम्पसकी छात्रा हुन् ।
यस पटक कुलपति पदक र इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक भने वितरण नहुने भएको छ । परीक्षा नियन्त्रक जोशीले सेमेस्टर प्रणालीअनुसार सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी पहिचान गर्न नसकिएकाले कुलपति पदक वितरण नगर्ने निर्णय भएको जनाए । उक्त पदक त्रिविका ९ वटा संकायमध्येबाट सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई दीक्षान्त समारोहमा प्रदान गरिँदै आएको थियो । त्रिवि कार्यकारी परिषद्ले नै कुलपति पदक वितरण नगर्ने निर्णय गरेको छ । इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक भने समान अंक ल्याउने ४ जना विद्यार्थी भएकाले यो वर्ष वितरण गर्न नसकिने अवस्था आएको जोशीले बताए ।
त्यस्तै, एमए अंग्रेजी साहित्यमा सर्वप्रथम सारा महर्जनलाई दिने भनिएको पदक र पुरस्कार पलिस्था रञ्जितकारलाई प्रदान गर्ने कार्यालयले जनाएको छ । महर्जनले प्राप्त गरेको (३.८५) जीपीएभन्दा रञ्जितकारले बढी (३.९१) जीपीए ल्याएकाले सार्वजनिक सूची संशोधन गर्नुपरेको जोशीले बताए ।
पदक र पुरस्कार पाउने विद्यार्थीको नाम पहिले सार्वजनिक गर्ने र पछि उक्त विद्यार्थीले पदक र पुरस्कार नपाउने भन्दै सूची हेरफेर गर्ने त्रिभुवन विश्वविद्यालयको विगतकै लापरबाही पुनः दोहोरिएको छ । प्रारम्भिक र अन्तिम सूची गत साताको गोरखापत्रमा प्रकाशित गरिएको थियो । पदक र पुरस्कृत विद्यार्थीको सूची हेरफेर गरिएकामा विद्यार्थीले असन्तुष्टि जनाएका छन् ।
साभारःईकान्तिपुरबाट