नवलपुर
नवलपुरमा हुने भनिएको प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई अन्यौलमा पर्न नदिनको लागी प्रदेश खेलकुद परिषदले जिल्लालाई पत्राचार गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले नवलपुरको खेलकुद विकास समितिलाई पत्र लेख्दै यसको जानकारी गराएको हो।
पत्रमा उल्लेख भए अनुसार नवलपुरका स्थानीय निकायहरूले गरेका सम्पूर्ण निर्णयहरू पूर्ण कार्यन्वयन नभएमा प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नवलपुरमा गर्न नसकिने भएको छ। जिल्ला खेलकुद विकास समितिको निर्णय अनुसार प्रतियोगिताको लागी यस अघि जिल्लाका ४ वटा नगरपालिकाले जनही ५ लाख , बौदिकाली र बुलिङ्टार गाउँपालिकाले जनही २ लाख र विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकाले जनही ३ लाखका दरले सहयोग गर्ने निर्णय भएको थियो।
हाल सम्म नवलपुरका पालिकाले उपलब्ध गराउने भनिएको रकमको पेश्की जम्मा नभएकाले मङ्सिर मसान्त भित्र उक्त पेश्की जम्मा गरि सहयोग गर्न आग्रह गरिएको छ। प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्माले निर्णय बमोजिमको रकम उपलब्ध हुने कुराको सुनिश्चितता भएमा मात्र प्रतियोगिता सञ्चालन गर्न सकिने कुरा बताउनुभएको छ।
शर्माले नवलपुरमा मन्त्री ,पालिका प्रमुख तथा उप प्रमुख , प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवालाहरूको उपस्थितिमा गरिएका निर्णय अनुसार कार्य अगाडि नबढे प्रतियोगिताको लागी असहज वातावरण सृजना हुने समेत बताउनुभएको छ।
पत्रमा कुन खेल कुन पालिकामा खेलाउने र यसको व्यवस्थापनको तालिका सहित खेल सञ्चालन हुने खेल मैदान भौतिक पूर्वाधार, बास बस्ने होटलको व्यवस्थापन, खेल मैदानबाट होटलसम्म आते जातेको लागि सवारी साधनको उपलब्धता आदिको सम्बन्धमा सम्पूर्ण जानकारी खुलाई परिषदलाई पत्राचार गर्न आग्रह गरिएको छ।
सदस्य सचिव शर्माले प्रदेशको ११ वटा जिल्ला सहभागी हुने यो प्रतियोगिता नवलपुरमा आयोजना गर्दै गर्दा यस जिल्लाको खेलकुदको क्षेत्रमा प्रचुर विकासको सम्भावना रहेको र यस प्रतियोगिताले यहाँको खेलकुदलाई राष्ट्रिय स्तर सम्म पुर्याउन टेवा पुग्ने बताउनुभएको छ।