गैंडाकोट
कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै गैंडाकोट नगरपालिकामा रहेको अमर इङ्लिस स्कुलले विद्यार्थीमा व्यवहारिक ज्ञान सिकाउने कार्य गरिरहेको छ ।
विद्यालयमा सञ्चालित अमर स्काउट ट्रपको आयोजनामा शुक्रबार विद्यार्थीहरू बिच कुकिङ प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा ८ समूहका विद्यार्थीहरूको सहभागिता रहेको थियो । दैनिक रुपमा मानव जीवनमा आवश्यक पर्ने खानाका परिकारलाई विद्यार्थीहरूले पनि चासो देखाएर बनाएका थिए । प्रविधिको बढ्दो प्रयोगले हिजोआज चुलोमा आगो बालेर पकाउने चलन हराउँदै गएपनि विद्यार्थीले आगो बालेर खानाका विभिन्न परिकारहरू बनाएका थिए । विद्यार्थीले असाध्यै उत्साहित भएर ज्ञान, सीप सिक्ने गरिरहेको र अभिभावकले पनि घरमा सिकाउने समय नमिलेको अवस्थामा विद्यालयमा नै सिकाइएको यस सीपलाई सकारात्मक रूपमा विद्यार्थीहरूले लिएको विद्यालयका सहप्रधानाध्यापक प्रेम पौडेलले बताउनुभयो ।
विद्यालयमा यस सम्बन्धी सैद्धान्तिक ज्ञान दिने गरेपनि प्रयोगात्मक रुपमा पहिलो पटक गराइएको र यस प्रति विद्यार्थीहरू पनि खुशी भएको उहाँले बताउनुभयो । अमर स्काउट ट्रपले आयोजना गरेको कुकिङ प्रतियोगिताले विद्यार्थीमा धेरै कुरा सिकाएको अमर स्काउटका शिक्षिका गङ्गा ढकाल सापकोटाले बताउनुभयो । उहाँले समुदाय सम्म पुगेर बालबालिकाले आफ्नो ज्ञान, सीप र क्षमतालाई प्रदर्शन गर्ने बलियो माध्यम स्काउट रहेको बताउनुभएको थियो ।
कुकिङ प्रतियोगितामा विद्यार्थीहरूले आफ्नै सामाग्रीले विभिन्न परिकार बनाउनुपर्ने र विजेता समूहलाई सम्मान गरिने समेत बताउनुभएको छ । प्रतियोगितामा फ़्लामिङ्गो , जागुअर , प्यारोट , वुल्फ़ , पिकक , लियो , लोफोफोरस र हर्स गरि ८ समुहको सहभागिता रहेको थियो। प्रतियोगिताको नतिजा भने आउँदो बिहीबार विद्यालयमा एक कार्यक्रमका बीच गरिने स्काउटका शिक्षिकाले बताउनुभयो।
विद्यार्थीहरू बिच कुकिङ प्रतियोगिताको निर्णायक मण्डलमा गैंडाकोटका स्काउट संयोजक बिमर्स पौडेल , सनराइज स्कुलका शिक्षक तथा राष्ट्रिय स्तरको सहायक प्रशिक्षक जमुना शर्मा , एडभान्स लेभल स्काउट तथा पञ्च कन्या विधा मन्दिरका शिक्षक लक्ष्मी भट्ट र अमर स्कुलका शिक्षक खेम प्रसाद न्यौपाने लगायतका रहनुभएको थियो।
सहभागी विद्यार्थीहरूले विद्यालयमा साथीहरूसँग मिलेर टिमवर्कमा काम गर्दा सजिलो पनि हुने बताएका थिए । उनीहरूले व्यवहारिक ज्ञान जीवनमा साँचिक्कै आवश्यक पर्ने रहिछ भन्ने कुरा यस प्रतियोगिताले थाहा पाएको र यस्ता कार्यक्रम निकै आवश्यक रहेको बताएका थिए ।