गैंडाकोट
गैंडाकोटमा शनिबार साँझ `छन्द भावमय वाचन´ कार्यक्रम गरिएको छ । कार्यक्रममा कवि गोविन्दराज विनोदीका छन्द कवितालाई कवि शिव त्रिपाठीले विभिन्न छन्दमा वाचन गरेका थिए । गैंडाकोट नगरपालिकाको आयोजना एवम् गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको सहआयोजनामा भएको कार्यक्रममा कवि विनोदीका १५ वटा कविता प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अतिथि वाचकका रूपमा आमन्त्रित कास्की हेम्जाका छन्द कवि शिव त्रिपाठीले कवि विनोदीका १४ वटा कवितालाई विभिन्न छन्दमा प्रस्तुत गरे । कवि त्रिपाठीले पहिलो चरणमा अध्यात्मयात्रा, स्वप्नवयन, आरम्भ, कर्म चिन्तन, स्थगन र प्रतिरक्षण गरी ६ वटा कविता प्रस्तुत गरे । त्यसपछि उनले पुस्तान्तरण, यात्रा, शरणावरुद्ध, मातृत्व र विरोधाभास कविता प्रस्तुत गरे भने अन्तिम चरणमा गुप्तसन्देश, गतिरोध र प्रार्थना शीर्षकका कविता प्रस्तुत गरे । कार्यक्रममा सम्बन्धन शीर्षकको कवितालाई कवि विनोदी आफैले प्रस्तुत गरेका थिए ।
प्रस्तुत भएका १५ वटै कविताका भाव झल्कने चित्रलाई पावरप्वाइन्टका माध्यमबाट प्रदर्शन गरिएको थियो । सबै चित्र कलाकार भीमप्रसाद शर्माले बनाएका हुन् । शर्मा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव हुन् । कार्यक्रममा त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनाल, समालोचक उदय अधिकारी र कवि भूपिनले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा वक्ताहरूले कवि विनोदीलाई यसरी सुन्न पाउनु नै महत्त्वपूर्ण पक्ष भएको बताएका थिए ।
गैंडाकोट नगरपालिकाका प्रमुख, गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति एवम् कार्यक्रमका अध्यक्ष मदनभक्त अधिकारीले कवि विनोदी राष्ट्रका गौरव भएको बताए । `उहाँको सम्मानमा हामीले अझै धेरै र महत्त्वपूर्ण कामहरू गर्न बाँकी नै छ´, अधिकारीले भने - `विनोदी सरको सम्मानका लागि हामीले नगरवासीसँग समन्वय गरेर अझै कामहरू गर्ने योजनामा छौँ ।´
नगरप्रमुख अधिकारीले छन्द कवि एवम् अतिथि वाचक शिव त्रिपाठीलाई गैंडाकोटको भूमिमा ल्याएर उहाँको आवाजबाट कविता सुन्न पाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा त्रिवेणी साहित्य प्रतिष्ठान, कलावती आर्ट काउन्सिल, आदर्श साहित्य समाज, सिर्जन साहित्य प्रतिष्ठान र सम्पूर्ण किताबको व्यवस्थापन सहयोग रहेको थियो । त्यसैगरी कार्यक्रमको मिडिया सहयोगीमा विजय एफएम, रेडियो संकेत र कायाकैरन मिडिया नेटवर्क प्रालि रहेका थिए । कार्यक्रमलाई सिर्जन साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।