कावासोती
नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनको तयारी पूरा भएको छ । यही मंसिर ११ गते सोमबारका दिन दलदलेको सहारा पार्टी प्यालेसमा सम्मेलन गर्न लागिएको शनिबार दलदलेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
राज्य पुनर्संरचनापछि बनेको काँग्रेसको संशोधित विधान अनुसार नवलपुरमा पहिलो पटक सम्मेलन आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा नवलपुर कांग्रेस सभापति एवं गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले बताए ।
जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको जिल्ला सम्मेलनको उदघाटन सत्रमा काँग्रेस केन्द्रिय सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्मा , पुर्व महामन्त्री डा.शशांक कोइराला, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे सहितका केन्द्रिय नेताले सम्बोधन गर्ने सभापति जिसीले बताए ।
सम्मेलनमा जिल्लाको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरणसँगै प्रजातन्त्र सेनानीहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दका घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यसै गरि कांग्रेसको महासमिति बैठकमा पेश गर्नका लागी जिल्ला सम्मेलनले राजनीतिक प्रस्ताव पास गर्ने तथा जिल्लाको समग्र विकास निर्माण तथा जनजिविकाको विषयमा कांग्रेस धारणा तयार पारेर संघ र प्रदेश सरकारलाई पठाईने सभापति सभापति जिसीले बताए ।
सम्मेलनको उदघाटन सत्रमा जिल्ला भरिका कांग्रेसका कार्यकर्ता तथा आम सर्वसाधारणको उपस्थित रहने छ भने बन्द सत्रमा जिल्ला भरिका ९२ वडाका १ हजार ९ सय ७२ प्रतिनिधिहरु सहभागी हुने सभापति जिसीले जानकारी दिए ।