नवलपुर
शनिबार नवलपुरको प्रगतिनगर साहित्यमय बनेको छ। यो अवसर जिल्लाको नारी साहित्य समाजले जुटाएको हो। समाजको आयोजनामा भएको पुस्तक विमोचन, श्रष्टा सम्मान एवं रचना वाचन कार्यक्रममा माहोल साहित्यमय बनेको हो ।
सो अवसरमा नारी साहित्य समाजकी अध्यक्ष कृष्णादेवी शर्मा श्रेष्ठको मुक्तक सङ्ग्रह " बन्द कोठाको आँखिझ्यालबाट" बिमोचन गरिएको छ । सङ्ग्रहलाई कार्यक्रमका प्रमुख अतिथी एवं साहित्यकार लकास पौडेल, साहित्यकार केशवराज आमोदी, श्यामप्रसाद न्यौपाने, दीपक सोती, उद्योगबहादुर श्रेष्ठ लगायतले बिमोचन गरेका थिए । सो पुस्तकबारे साहित्यकार श्यामप्रसाद न्यौपानेले टिप्पणी गरेका थिए ।
पुस्तक विमोचन लगतै कार्यक्रममा नवलपुर र चितवनका गरि ६ जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुने साहित्यिक श्रष्टाहरुमा नवलपुरका सरोज उजाड, आदर्श सुशील, प्रीतम भुजेल, अर्जुन अबिरल र भेषराज रिजाल तथा चितवनका अम्बिका पोखरेल ज्ञवाली रहेका थिए । श्रष्टाहरुलाई सम्मान पत्र, दोसल्ला, मायाको चिनो र नगद सहित सम्मान गरिएको थियो।
सम्मानित श्रष्टाहरुका बारेमा साहित्यकार लेखराम सापकोटाले बोलेका थिए। सम्मान कार्यक्रम पछि श्रष्टाहरुले आ-आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार डा.धनपती कोइराला, तेजेन्द्र सापकोटा, करुण लम्साल, आइपी सापकोटा, शर्मिला सापकोटा, निमा पौडेल तिवारेव, एकनारायण चापागाईं, दीपक भट्टराई, कमला ढकाल, केशवराज घिमिरे लगायतले रचना वाचन गरे ।
कार्यक्रममा खिमानन्द भुसाल, दयाराज तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए। साहित्यकार टिकादेवी पोखरेलले स्वागत मन्तब्य राखेको कार्यक्रमको सहजीकरण संस्थाकी सचिव सितादेवी पौडेलले गरिन् । कार्यक्रममा नवलपुर, चितवन र पश्चिम नवलपरासीका गरि करिव ५ दर्जन साहित्यकारको उपस्थिती रहेको थियो।