काठमाडौं
असोजमा आयातमा सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा आयातमा कमी आउँदा राजस्वमा ठूलो खाडल परेको थियो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा पनि गत वर्षको भन्दा आयात कम हुँदा यो वर्षको लक्ष्य पनि प्राप्त नहुने चिन्तामा सरकार थियो ।
तर, असोजमा भने आयातमा केही सुधार देखिएको हो । यस वर्षको दशैं ढिला भई कात्तिकमा पुगेकाले चाडपर्वका लागि हुने खपतका लागि आयात बढेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले बढी हो ।
साउन र भदौमा २ खर्ब ५९ अर्ब ७४ करोड ९०८ लाख ९८ हजारको आयात भएकोमा असोज महिनामा मात्रै १ खर्ब ४८ अर्बको आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । भदौमा १ खर्ब ३० अर्बको आयात भएकोमा असोजमा भदौमा १ खर्ब ४८ अर्ब नाघेको छ ।
आयातमा वृद्धि भए पनि निर्यात भने घटेको छ । निर्यात गत वर्षको तुलनामा २.१६ प्रतिशतले घटेर चालु आर्थिक वर्षको असोजसम्म ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँमा झरेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो ।
आयातमा वृद्धिसँगै कुल वैदेशिक व्यापार र व्यापार घाटा पनि बढेको छ । कुल वैदेशिक व्यापार १.३१ प्रतिशतले वृद्धि हुँदा ४ खर्ब ४८ अर्ब ४३ करोड ३८ लाख ६६ हजार पुगेको छ । यस्तै निर्यातमा संकुचन हुँदा व्यापार घाटा २.१५ प्रतिशतले बढेर ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार पुगेको भन्सार विभागले जनाएको छ ।
असोजसम्म करिब ३० अर्बको डिजेल आयात हुँदा १७ अर्बको पेट्रोल र ११ अर्बभन्दा बढीको एलपी ग्याँस आयात भएको छ ।
यस्तै ७ अर्ब ३५ करोडको सुन आयात भएको भन्सार विभगले जनाएको छ । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटा १० किलोबाट बढाएर २० किलो पुर्याएको छ । साउन र भदौमा जम्मा ४ अर्ब १२ करोड रहेको सुन आयात कोटा बढाएसँगै असोजमा बढेको छ ।
१ खर्ब नाघ्यो भन्सार राजस्व
आयातमा केही सुधारसँगै पहिलो त्रैमासमा भन्सार राजस्व १ खर्ब नाघेको छ । असाजसम्म कुल १ खर्ब ९ अर्ब २४ करोड ९१ लाख ६ हजार भन्सार राजस्व प्राप्त भएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ९६ अर्ब ६१ करोड रहेको भन्सार राजस्व चालु आर्थिक वर्षमा उल्लेख्य रुपमा वृद्धि देखिएको हो ।
साभारःअनलाइनखबरबाट