देवचुली,
‘यस बर्षको चाडपर्वमा कसैले बस्नु नपरोस सडकमा’ भन्ने उद्धेश्यका साथ राष्ट्रिय उद्धार यात्रा २०८० मा मेची महाकाली यात्रा निस्किएको मानव सेवा आश्रमको टोली बिहिबार नवलपुर जिल्ला आइपुगेको छ । मेची –महाकाली अभियानमा रहेको टोलीलाई नवलपुरको देवचुली नगरपालिका वडा नं १२ नाग पोखरी बाल उद्यान तथा मुक्ति आमा समूहले एक कार्यक्रमकाबिच स्वागत गरेको छ । आश्रमका अध्यक्ष रामजी अधिकारी र आनी छोइङ डोल्माको नेतृत्वमा गत असोज २६ गते प्रधानमन्त्री निवासबाट यात्रा शुरु भएको हो । उक्त यात्रा आगामी मंसिर ४ गते सकिने छ ।
सहयोगापेक्षी बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारिरक रुपमा कमजोर सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन सहित, औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि मानव सेवा आश्रमको जन्म भएको हो । सडकमा भेटिएका अनाथ, अशक्त र वेसहाराहरुलाई उद्धार गरेर आश्रममा राख्ने गरिएको छ ।
मरेपछिको स्वर्ग र नर्कको परिकल्पना गरेर बस्नुभन्दा आँफू बसेकै धर्तीलाई स्वर्ग बनाउनुपर्छ भन्ने अभियानमा अगाडि बढेको जानकारी गराउँदै मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले कालीगढले बनाएका मुर्ती र ढुङ्गालाई पुजेर समय खेर फाल्न भन्दा घरमा भएका बुढा बा–आमाको सेवामा लाग्नुपर्ने बताउनुभएको थियो । उहाँले मानवता प्रर्बद्धनका लागि ‘यो बर्षको चाडपर्वमा कसैले बस्नु नपरोस सडकमा’ भन्ने राष्ट्रिय उद्धार अभियान तय गरिएको बताउनुभयो । साथै उहाँले देवचुली नगरपालिकाले गरेको आतिथ्यताको प्रशंसा गर्दै देवचुली नगरपालिका वडा नं १३ मा बन्ने भनिएको अस्पतालको यहि आर्थिक बर्षभित्र शिलान्यास गरि सेवा शुभारम्भ गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा आनी छोइङ डोल्माले अभियानमा हिँड्दै गर्दा सबैको माया र सद्भाव पाइएको देख्दा खुशी लागेको बताउनुभयो । उहाँले सडकमा रहेका सबै मानव देविदेवताको रुप भएकाले उनीहरुको उद्धारमा जोकोही पनि लाग्न सक्ने बताउनुभएको थियो । आँफूले सक्ने सहयोग गरे जीवन त्यसैमा सार्थकता रहने समेत उहाले बताउनुभयो ।
उक्त कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले मानव सेवा आश्रमले गरेको अभियानको उच्च सम्मान गर्दै नगरपालिकाले आश्रमका निम्ति सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले देवचुलीमा बन्ने मानसिक अस्पतालका निम्ति समेत नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्दै यो सेवालाई निरन्तरता दिन मानव सेवा आश्रमलाई आग्रह गर्नुभयो ।
यात्राको क्रममा देवचुली आइपुगेका मानव सेवा आश्रमकाे टोलीलाई प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तर्फबाट अध्यक्ष खिमानन्द भुसालले साबुन, दन्तमञ्जन लगायतका सामाग्री सहयोग गर्नुभएको थियो । सोही क्रममा देवचुली नगरपालिका वडा नं १३ मा बन्ने भनिएको मानसिक अस्पतालको वडाध्यक्ष एकदेव पौडेल, जग्गा उपलब्ध गराउने स्थानीय, लगायत मानव सेवा आश्रमका टोलीले जग्गाको अवलोकन समेत गरेका थिए ।
मेची –महाकाली यात्राको १२ औँ दिन नवलपुर आइपुगेको मानव सेवा आश्रमले नवलपुरको गैंडाकोट नगरपालिकामा १ जना पुरुष, देवचुली नगरपालिकाबाट २ महिला र मध्यविन्दु नगरपालिकाबाट ६ पुरुषको उद्धार गरेको छ । १२ औँ दिनमा आइपुग्दा विभिन्न जिल्ला पुगेको टोलीले १ सय १२ जनाको उद्धार गरेको छ ।