पाल्पाको रानीमहल नजिकै भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने ६ जना सबै एकै परिवारका भएको खुलेको छ।
मृत्यु हुनेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १६ रजहरका ६५ वर्षीय कृष्ण बहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना धिताल, नातिहरू ११ वर्षीय सोबिस धिताल र अर्का साढे दुई वर्षका छन्। ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन्।दुर्घटनामा परी कृष्णबहादुरका आफन्त ५५ वर्षीया चुना धितालको पनि मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरूमा तीन महिला, एक पुरूष र दुई बालक गरी ६ जना छन्।
देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपनेका अनुसार उनीहरू शनिबार रानीमहल घुम्न भन्दै स परिवार घरबाट गएका थिए।पाल्पाको रानीमहल अवलोकन गरेर फर्किने क्रममा दुर्घटनाको खबर सुनेर आफु घटना स्थल तर्फ जाँदै गरेको नगर प्रमुख न्यौपने बतऊनु हुन्छ। सबैले धैर्य गरौ,हामी घाइतेलाई बचाउने प्रयासमा छौ,सबैले भगवानसग प्रार्थन गरौ कि घाइतेलाई बचाउन सकियोस् ।म पाल्पाको जिल्ला प्रसाशन सग सम्पर्कमा छु ,घाइतेको उपचारमा कुनै कमि नहुने कुरा टेलिफोन सम्पर्कमा न्यौपानेले जानकारि दिनु भयो।
प्रहरीका अनुसार दुर्घटनास्थल अप्ठ्यारो भिर रहेको र जिप बराङ्दी खोलाको खोंचमा झरेकाले प्रहरीलाई समयमै उद्धारमा समेत कठिनाइ भएको थियो।उनीहरू सवार बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप पाल्पाको तानसेन नगरपालिकाको वैकुन्ठे छाँगोमा दुर्घटनामा परेको थियो।
सडकबाट झन्डै एक सय मिटर तल छाँगोबाट खसेको जिप खोलाका ढुंगामा बजारिएर क्षतविक्षत भएको छ। मृतकहरूको शव खोलामा डुबेको अवस्थामा उद्धार गरिएको थियो।
कतिपय मृतक गाडीले चेपिएको अवस्थामा रहेकोले प्रहरीलाई उद्धारमा समय लागेको थियो।
साँझ ५ बजेतिर भएको उक्त दुर्घटनाका मृतक तथा घाइतेलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए।
दुर्घटनास्थल पाल्पा सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ भने रानीमहलबाट फर्किएको डेढ किलोमिटरको दुरीमै जिप दुर्घटनामा परेको थियो।
साभार- सेतोपाटी