इजरायलमा भएको हिंसात्मक आक्रमणले फेरि एकपटक विश्वको ध्यान भङ्ग गरेको छ। गाजा स्ट्रिपबाट इजरायलमा कैयौं रकेट प्रहार गरिए। हमासले गरेको उक्त आक्रमणमा परी इजरायलमा १२०० भन्दा बढीले ज्यान गुमाए। इजरायलले गरेको जवाफी हमलामा गाजा शहरमा पनि २५०० भन्दा बढी मानिस मारिए। नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीको पनि नृशंस हत्या गरियो। हजारौं घाइते भए।
यतिमा मात्रै युद्ध रोकिएको छैन। यस हमलाले विश्वलाई नै त्रसित बनाएको छ। कतै यो हिंसात्मक आक्रमणको ज्वाला अन्य देशमा पनि सल्किने त होइन ? शक्तिशाली राष्ट्रहरूको शक्ति–संघर्षले तेस्रो विश्वयुद्ध त निम्तिने होइन ? यी प्रश्न गम्भीर छन्।
इजरायल र प्यालेस्टाइनबीचको अन्तरकलह मात्रै युद्धको कारण होइन। शक्तिसंघर्ष गरिरहेका अमेरिका, इरान लगायत बलियो सैन्य शक्ति भएका देशहरूको उक्साहट, साथ र समर्थनले युद्धलाई मलजल गरिरहेको छ। प्यालेस्टाइन मुस्लिम बाहुल्य रहेको क्षेत्र हो भने इजरायल यहुदी बाहुल्य राज्य। धार्मिक र साम्प्रदायिक लडाइँका कारणले पनि छिमेकी राष्ट्रहरूले यसलाई शक्ति–संघर्षको रूपमा लिइरहेका छन्।
इजरायलले प्यालेस्टाइनमाथि गरिरहेको दमन र अत्याचारलाई मुस्लिम राष्ट्रहरूले मुस्लिम माथिको दमन र अत्याचारको रूपमा लिने गरेका छन्। अस्तित्व र पहिचानको लडाइँ भएकाले पनि छिमेकी राष्ट्रहरूले युद्धको लागि भित्रभित्रै उत्प्रेरित गरिरहेका छन्। इजरायललाई अमेरिकाको ठूलो सहयोग र समर्थन छ। अमेरिकाले हमासलाई आतंककारी समूह भन्दै इजरायललाई हातहतियार र आर्थिक सहयोग गरिरहेको छ।
यस प्रकारको शक्ति संघर्ष र लडाइँका कारण इजरायल-प्यालेस्टाइन युद्ध आगोको झिल्कोको रूपमा विश्व जगतमा फैलिन नसक्ला भन्न सकिंदैन। यसले विश्व जगतलाई पनि असर पुर्याउने सम्भावना उत्तिकै छ। पहिलो र दोस्रो विश्वयुद्धको इतिहास हामीले पटकपटक सुन्दै र पढ्दै आएका छौं। शक्ति संघर्षकै कारण ती विश्वयुद्धहरू पनि भए। जसका कारण लाखौं निर्दोष नागरिकले अकालमै ज्यान गुमाउनु पर्यो।
युद्धले विनाश निम्त्याउँछ। यो विकासको चरम शत्रु पनि हो। युद्धग्रस्त मुलुकमा विकासले गति लिन त परै जाओस् भएका विकास पनि विनाश हुँदै जान्छन्। हत्या–हिंसा र बदलाबाट खोजिने समाधानले कसैलाई पनि फाइदा गर्दैन। विवाद समाधानको सबैभन्दा उत्तम उपाय भनेको शान्तिपूर्ण वार्ता नै हो। विश्वका शक्तिशाली राष्ट्रहरूले मध्यस्थकर्ताको भूमिका खेल्नुपर्दछ। युद्धको मैदानमा उत्रेकाहरू उग्र र अतिवादी हुन्छन्। यिनीहरूमा बदलावको भावना मात्रै हावी हुन्छ। विनाश र विध्वंस नै यिनीहरूको मुख्य प्राथमिकता हुन्छ। यस्तो वेला छिमेकी राष्ट्रहरूले मध्यस्थकर्ताको भूमिका खेलिदिनुपर्छ। आगोमा घिउ थप्नुको सट्टा आगो निभाउनेतर्फ अग्रसर हुनुपर्दछ।
विवादको चुरो
अहिलेको विध्वंसात्मक हमला यतिकै भएको होइन। यसको सम्बन्ध परापूर्वकालसम्मै जोडिएको छ। यस किसिमका हमला विगतमा पनि पटक–पटक हुँदै आएका छन्। यी दुई पक्षबीच मुख्यगरी जेरुसेलम, सिमाना, भूमि, यहुदी बसोबास र प्यालेस्टाइनी शरणार्थीको मुद्दामा विवाद रहेको छ। इजरायलले संयुक्त राष्ट्रसंघबाट सदस्य राष्ट्रको मान्यता पाइसकेको भए तापनि प्यालेस्टाइन पूर्ण सदस्य होइन।