त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार खेलिएको खेलमा नेपालले हङ्कङलाई ६ विकेटले पराजित गरेको छ । जारी शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बिहीबार टर हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १९.३ ओभरमा अलआउट हुनुअघि ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १३.५ ओभरमा चार विकेट गुमाएर ९९ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए । उनले २० बलमा दुई छक्का र एक चौका हिर्काए । गुल्सन झाले पनि अविजित १४ रनको योगदान गरे । उनले पाँच बलमा दुई छक्का प्रहार गरे । नेपालले अतिरिक्त रुपमा ६ रन पायो ।नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । उनी आठ रन बनाउँदै हङ्कङका बलर एहसान खानको बलमा बोल्ड भएका थिए । उनले आठ बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । नेपालको दोस्रो विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । उनी एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई हङ्कङका बलर एहसान खानले बोल्ड गरेका हुन् । तेस्रो विकेटका रुपमा सन्दीप जोरा पेभेलियन फर्किएका थिए । सन्दीप जारालाई केवल तीन रनको ब्यक्तिगत स्कोरमा हङ्कङका बलर एहसान खानले बोल्ड गरेका थिए । एहसान खानले लिएको यो तेस्रो विकेट थियो । सन्दीप जोरा आउट हुँदा नेपालले ७.३ ओभरमा ४७ रन बनाएको थियो । यसैगरी नेपालको चौथो विकेटका रुपमा आसिफ शेख ४२ रन बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले ३४ बलको सामना गरी ६ वटा चौका हिर्काएका थिए । आसिफको विकेट यासिम मुर्तजाले लिएका हुन् । आसिफ आउट हुँदा नेपालले १२.१ ओभरमा ७७ रन बनाएको थियो ।
त्यसअघि नेपालले जितका लागि हङ्कङबाट ९५ रनको लक्ष्य पाएको थियो । हङ्कङलाई ठूलो योगफल बनाउन नदिन नेपाली टोलीका बलर करण केसीले चार विकेट लिएका थिए । उनले चार ओभरमा १५ रन खर्चिएका थिए । सोमपाल कामी र अविनोष बोहराले पनि दुई—दुई विकेट हात पारेका थिए । कुशल मल्ल र मौसम ढकालले एक—एक विकेट लिएका थिए ।
हङ्कङका लागि भने दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाएका थिए । यासिम मुर्तजाले ३६ र जिसन अलीले १७ रन बनाएका थिए । हङ्कङले अन्तिम विकेटका रुपमा एहसान खानलाई चार रनमा गुमाएको थियो । उनको विकेट सोमपाल कामीले लिए । हङ्कङले अतिरिक्त रुपमा चार रन पाएको थियो ।
करणले पहिलो बलमै हङ्कङको विकेट लिएका थिए । उनले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका थिए । निजाकत हङ्कङका कप्तान पनि हुन् । दोस्रो विकेट पनि करण केसीले नै लिएका थिए । उनले हङ्कङका अर्का ओपनर ब्याट्सम्यान अंशी राथलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । उनले राथलाई आसिफ शेखद्वारा क्याच गराएका थिए ।
हङ्कङको तेस्रो विकेट सोमपाल कामीले लिएका थिए । उनले हङ्कङका चौथो नम्बरका ब्याट्सम्यान मार्टिन कोएट्जीलाई दुई रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । त्यतिबेला हङ्कङले चार ओभरमा तीन विकेट गुमाएर १४ रन बनाएको थियो । हङ्कङको चौथो विकेट पनि करण केसीले लिएका थिए । उनले हङ्कङका तेस्रो नम्बरका ब्याट्सम्यान बाबर हायातलाई पाँच रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले हायातलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । करणले लिएको यो तेस्रो विकेट थियो ।
हङ्कङको पाँचौँ विकेट कुशल मल्लले लिएका थिए । उनले हङ्कङका अजिज खानलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । उनले अजिजलाई करण केसीद्वारा क्याच गराएका थिए । अजिज आउट हुँदा हङ्कङले ८.२ ओभरमा पाँच विकेट गुमाएर ३३ रन बनाएको थियो ।
यसैगरी हङ्कङको छैठौँ विकेट मौसम ढकालले लिएका थिए । मौसमले हङ्कङका जिसन अलीलाई १७ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि जिसनले २० बलमा दुई चौका हिर्काएका थिए । उनी आउट हुँदा हङ्कङले १३.५ ओभरमा ६ विकेट गुमाएर ६३ रन बनाएको थियो ।
हङ्कङको सातौँ विकेट अविनाष बोहराले लिएका थिए । उनले हङ्कङका ब्याट्सम्यान छैठौँ नम्बरका ब्याट्सम्यान यासिम मुर्जजालाई ३६ रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि मासिमले ३६ बलमा एक छक्का र दुई चौका हिर्काएका थिए । हङ्कङको आठौँ विकेट पनि करण केसीले लिएका थिए । उनले हङ्कङका हारुन अर्सदलाई पेभेलियन फर्काए । करणले उनलाई दुई रनको ब्यक्तिगत स्कोरका बोल्ड गरे । हङ्कङकले १७.३ ओभरमा आठ विकेट गुमाएर ८६ रन बनाएको थियो । करणले लिएको यौ चौथो विकेट थियो । हङ्कङको नवौँ विकेट अविनाष बोहराले लिएका थिए । उनले हङ्कङका अदित गोरावारालाई आठ रनको ब्यक्तिगत स्कोरमा सोमपाल कामीद्वारा क्याच गराएका हुन् । अविनाषले लिएको यो दोस्रो विकेट थियो । गोरावारा आउट हुँदा हङ्कङले १८.४ ओभरमा ९० रन बनाएको थियो । जारी शृंखलामा नेपालले हात पारेको यो दोस्रो जित हो ।
यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो । निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।