चितवन, असोज २९–
चाडपर्वमा सर्वसाधारणको भान्छामा निकै धेरै खपत हुने चिनीको चितवनमा हाहाकार भएको छ ।विदेशबाट चिनी आयात हुन नसक्दा चितवनमा यसको अभाव देखिएको हो ।
नागरिकलाई सस्तो र सर्वसुलभरुपमा खाद्य सामग्री उपलब्ध गराउन नारायणगढमा खुलेको सुपथ मूल्य पसलमा पनि चिनीको अभाव भएको छ । पसल सञ्चालनमा आएसँगै साल्ट ट्रेडिङले दसैँमा चिनी ल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो तर यसपटक दसैँमा पनि चिनी नआउने भएको छ ।
साल्ट ट्रेडिङ चितवनका प्रमुख बुद्धिविनोद दाहालले चिनीको अभावमा यसपटकको सुपथ मूल्य पसल खल्लो भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ धेरै सर्वसाधारण चिनी खोज्दै पसलमा आउने गर्नुभएको छ तर चिनी उपलब्ध छैन । दसैँपछि चिनी उपलब्ध हुने आशा छ ।’ उनले के कारणले चिनीको अभाव भएको हो भन्ने कुरा आफूलाई थाहा नहुने बताए । उनले भने, ‘ यो विषय जान्न मन्त्रालयलाई सोध्नुपर्छ ।’ बजारमा चिनी महंगो भएर सुपथ मूल्य पसल खोज्दै पुगेका सर्वसाधारण चिनी नपाएर खाली हात फर्किएका छन् । चिनी किन्न भरतपुर–१० बाट सुपथ मूल्य पसल पुगेकी भवानी घिमिरेले बजारमा धेरै महंगो भएकोले सुपथ मूल्य पसल आएको तर चिनी नपाउँदा खल्लो लागेको बताइन् । उनले सर्वसाधारणले खोजेको सामान नपाउँने हो भने सुपथ मूल्य पसल किन सञ्चालन भएको भन्दै विज्ञापन गर्नुको कुनै औचित्य नभएको विचार राखिन् । अहिले बजारमा निजी व्यापारीहरुले कार्टेल गरी अभाव सृजना तथा मूल्यवृद्धि गरेको सर्वसाधारणको आरोप छ ।
चितवनमा अहिले चिनी १२५ रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ । दसैँपछि अझै मूल्य बढेर १५० रुपैयाँ पुग्न सक्ने व्यवसायीले बताएका छन् । किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलले ठूला बेकरी र बिस्कुट उद्योगले चिनी ठूलो मात्रामा खरिद गर्दा समस्या भएको बताए । उद्योगले जुन मूल्यमा खरिद गरेका छन् सोही मूल्यमा व्यापारीले खरिद गर्दा चिनी महंगो पर्न गएको उनले बताए । कतिपयले स्टक गरेर राखिदिनाले पनि समस्या भएको पौडेलले बताए । उनले नारायणी अनलाइनलाई भने, ‘ चितवन हुँदै गोरखा, लमजुङ, तनहुँलगायतका पहाडी जिल्लामा चिनी जाने गर्छ । चितवनमा अभाव देखिएकोले ती जिल्लामा चिनी नपठाउन व्यापारीहरुलाई किराना व्यवसायी संघको तर्फबाट अनुरोध गरेका छौं ।’ उनले माग अनुसार चिनी आयात हुन नसक्दा समस्या आएको बताए । आयात गर्ने अधिकारी साल्ट ट्रेडिङलाई भए पनि उसले आयात गर्न सकेको छैन ।
भरतपुर–११ बसेनी गोरखाली टोलका किराना व्यवसायी उमेश अधिकारीले धेरै ठाउँमा सोध्दा पनि चिनी पाउन नसकेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ मसँग एक बोरा मात्र बाँकी छ । चिनीको माग बढी छ तर कतै होलसेलमा पाउन सकिन ।’ उनले होलसेलमा नै चिनीको मूल्य १२४ रुपैयाँ भन्ने गरेकोले १२५ रुपैयाँ प्रतिकेजी बेच्दा खासै फाइदा नहुने बताए । निजी क्षेत्रलाई चिनी आयात गर्न नदिएकोले समस्या आएको उनले बताए ।
गत वर्ष पनि चितवनमा दशैँको मुखैमा बजारमा चिनीको हाहाकार भएको थियो । सरकारी स्वामित्वको खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ दुवै कार्यालयको भण्डारणमा चिनी रित्तिएपछि बजारमा चिनीको मूल्य बढाइएको थियो । यस वर्ष पनि चिनीको कृत्रिम अभाव सृजना गरी मूल्य बढाइएको छ । बजारमा चिनी छ वा छैन, कति दिनलाई मौज्दात पुग्छ भन्ने विवरण सरकारसँग छैन । नेपालमा १० वटा चिनी मिलहरुले चिनी उत्पादन गर्छन् । मुलुकभित्र हरेक वर्ष एक लाख टन चिनी उत्पादन हुने गरे पनि उत्पादनबाहेक हरेक वर्ष करिब एक लाख टन चिनी भारतबाट नेपाल आयात हुने गरेको छ ।