मकवानपुर
हेटौंडामा भएको खुला कविता प्रतियोगितामा सुनसरीका सुरज पराजुलीको `पर्खाल´ कविता प्रथम भएको छ । प्रदेश युवा परिषद बागमतीको आयोजना र साहित्य संगम मकवानपुरको सहकार्यमा भएको राष्ट्रिय युवा कविता उत्सव २०८० को महत्वपूर्ण हिस्साका रूपमा रहेको खुला कविता प्रतियोगितामा पराजुलीले प्रथम स्थान हासिल गरी ४० हजार नगद पुरस्कार प्राप्त गरे । यस्तै चितवनका कवि अञ्जान प्रदीपको कविता ‘कुण्डली’ले द्वितीय स्थान साहिल गरेको छ । प्रदीपले ३० हजार नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी नुवाकोटका कवि एलिसा एकलासको कविता ‘निर्धो बक्ररेखा’ले तृतीय स्थान हासिल गर्दै २० हजार पुरस्कार प्राप्त गरिन् । कविता प्रतियोगितामा भीमप्रसाद खतिवडा अनुरागको ‘मेरो यात्रा’ कविताले सान्त्वना भइ १० हजार रूपैयाँ प्राप्त गरे । कविता प्रतियोगिताको लागि प्राप्त १ सय ५३ कवितामध्ये प्रारम्भमा उत्कृष्ट २० छनौट गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट २० मा छनौट भएका मध्ये १८ जना कविका कविता शनिबार हेटौंडामा वाचन समेतका आधारमा अङ्क प्रदान गरी नतिजा सार्वजनिक गरिएको निर्णायक मण्डल संयोजक निमेष निखिलले बताए ।
उत्कृष्ट कविताका कविहरूलाई बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तान र परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले नगदसहित कदरपत्रले सम्मान गरेका थिए । ३ सदस्यीय निर्णायक मण्डल मण्डलमा चितवनका कवि भूपिन, काठमाडौँकी कवि डा. विन्दु शर्मा र हेटौँडाका कवि निमेष निखिल रहेका थिए । प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजना र साहित्य सङ्गम मकवानपुरको व्यवस्थापनमा शनिबार रोयल प्यालेस हेटौँडामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य र प्रदेश युवा परिषद, बागमती प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाईँको अध्यक्षतामा कार्यक्रम उद्घाटन गरिएको थियो ।
मन्त्री मोक्तानले युवाहरू लेखन, वाचनलगायत साहित्य सिर्जनामा लाग्नु सकारात्मक पाटो रहेको बताईन् । उपाध्यक्ष चौलागाईँले पढ्ने मान्छेमा लेख्ने क्षमता हुने हुँदा पुस्तक पढ्नका लागि प्रेरित गर्नुपर्ने भन्दै यस अभियानमा सरिक सबै लेखकलाई धन्यवाद दिए । विशिष्ट अतिथि कवि विप्लव प्रतिक र पूर्व सभासद् अनन्त पौडेल रहेको कार्यक्रममा मकवानपुरका सम्पूर्ण साहित्यिक संस्थाबाट प्रतिनिधित्व गर्दै सर्जक सञ्जालका संयोजक तथा कविताका निर्णायक निमेष निखिलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सङ्गम अध्यक्ष डीबी बर्तौलाले मन्तव्यकका क्रममा साहित्य सङ्गमले साहित्य क्षेत्रको उन्नयनका लागि गुणात्मक कार्यक्रमहरू गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा एकल कविता वाचन सत्रमा कवि विप्लव प्रतीकले सुनाएको कवितामा दर्शक स्रोताहरू मग्न भएका थिए ।
सङ्गम उपाध्यक्ष सानु खनालले पूर्व पत्रकारका साथै गीतकार, अनुवादक, रङ्गकर्मीका साथै युवा पुस्ताका रोजाइका कविमध्ये एक भएकोले कार्यक्रमको एक महत्वपूर्ण हिस्साका रूपमा विप्लवलाई उपस्थित गराइएको बताए । किताबघर हेटौँडाले पुस्तक प्रदर्शनी गराएकोमा कवि प्रतिकले विभिन्न कार्यक्रमहरूमा यस्तै प्रदर्शनीका लागि जोड गर्नुपर्ने र त्यसले समेत पठन संस्कृतिमा टेवा पुग्ने विचार व्यक्त गरे ।
सर्जकहरूले प्रदर्शनीबाट आफ्नो रोजाइका पुस्तकहरू सङ्कलन गरेका छवि अनित्यले जानकारी दिए । युवा पुस्तामा कविता क्रेज सन्दर्भमा बहसमा साहित्य समीक्षक घनश्याम घिमिरे, कविद्वय केशव सिलवाल र सीमा आभास सहभागी रहेका थिए । बहसलाई सङ्गम अध्यक्ष बर्तौलाले सहजीकरण गरेका थिए । कार्यक्रमलाई सङ्गम सचिव मनोज पोखरेलले सञ्चालन गरेका थिए ।