देवचुली,
सहकारी संस्था ठूलो बनाउनु भन्दा पनि संस्थालाई विश्वासिलो र भरपर्दो बनाउनुपर्ने कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका माननीय मन्त्री महेन्द्र ध्वज जि.सीले बताउनुभएको छ । देवचुली १७ फारममा रहेको जनचेतना साकोसको २७ औं बार्षिक साधारण सभा कार्यक्रममा बोल्दै जि.सीले सहकारी संस्था चलाउन संचालकको सबैभन्दा महत्वपूर्ण भूमिका रहने बताउनुभएको हो ।
उहाँले सहकारी संस्थामा आबद्ध शेयर सदस्यको उत्तिकै दायित्व रहने बताउनुभयो । आँफू यसै क्षेत्रको रहेकाले पनि संस्थाको गैंडाकोट उपशाखा खोल्ने विषयमा आफ्नो आवश्यक सहयोग रहने बताउनुभएको थियो । जनचेतना बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार संस्थाको कार्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो । जनचेतना साकोसका अध्यक्ष चन्द्रप्रसाद तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियो । वि.स. २०५३ सालमा स्थापना भएको जनचेतना साकोसले स-सानो पुँजीलाई खर्चको मितव्ययीता अपनाउँदै बचत गर्ने बानीको विकास गराउँदै आईरहेको संस्थाका अध्यक्ष तिवारीले जानकारी गराउनुभयो । साकोसलाई उत्कृष्ट वित्तिय सहकारी सेवाका लागि सदस्यहरूको पहिलो रोजाई संस्था बनाउने र व्यवसायिक लक्ष्य लिएर अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव राजन पौडेलले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यसैगरि संस्थाका कोषाध्यक्ष भिमप्रसाद बस्यालले आर्थिक बर्ष २०८०/०८१ को प्रस्तावित बार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने लेखा संयोजकको प्रतिवेदन रामचन्द्र ठकुरीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भिमलाल कंडेल, जिल्ला बचत संघ नवलपुरका उपाध्यक्ष बद्री प्रसाद नेपाल, जिल्ला सहकारी संघ नवलपुरका सचिव श्याम सुन्दर लामिछाने लगायतले आगामी दिनमा संस्थाको प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ठ नियमित मासिक बचतकर्ता दुईजना, उत्कृष्ठ बाल बचतकर्ता दुईजना, उत्कृष्ठ सुनौलो भविष्य बचतकर्ता दुईजना, उत्कृष्ठ खुत्रुके बचतकर्ता दुईजना, उत्कृष्ठ ऐच्छिक बचतकर्ता दुईजना, उत्कृष्ठ दैनिक बचतकर्ता दुईजना, असल ऋणी दुईजना, जेष्ठ नागरिक दुईजना, सक्रिय सदस्य एकजना, लघुवित्त बचत तर्फ एक समूह, लघुवित्त ऋण तर्फ एक समूह, छात्रवृत्ति तर्फ तीनजना, अधिकतम शेयर सदस्यतर्फ एकजना र धेरै पटक रक्तदान गर्ने रक्तदाता १३ जनालाई प्रमाणपत्र र नगदले सम्मान गरिएको थियो ।