देवचुली
मध्य नेपाल साकोसको इकाईगत चौथो वार्षिक साधारण सभा सुरु भएको छ। आज शनिबार इकाई १ अन्तर्गत नव प्रगति सेवा केन्द्र र पृथ्वी सेवा केन्द्रको इकाई साधारण सभा जनज्योति मा.वि, देवचुली १५ प्रगतिनगरमा सम्पन्न भएको हो।
कार्यक्रममा नवप्रगति सेवा केन्द्रका संयोजक इन्द्र प्रसाद घिमिरे अध्यक्षता सँगै जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपुरका अध्यक्ष होमनाथ जैशीको प्रमुख आतिथ्यता रहेको थियो। साधारण सभामा सकोसका अध्यक्ष मानसिङ खत्रीले समग्र प्रतिवेदन ,सचिव कुस्माखर काफ्लेले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष डिलाराम पाण्डेले आर्थिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक यदुनाथ काफ्लेले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
सोही अवसरमा सम्पूर्ण प्रतिवेदन माथि छलफल गरि केही महत्वपूर्ण निर्णयहरू समेत भएका छन्। विशेष गरि आजको कार्यक्रममा आ.व २०८०/०८१ का लागि आवश्यक रणनैतिक योजना सहित विविध विषयमा समेत छलफल भएको साकोसले जानकारी दिएको छ।
कार्यक्रममा संस्थाका सञ्चालक, सल्लाहकार, स्थानीय सामाजिक सङ्घसंस्थाका पदाधिकारी, दुवै सेवा केन्द्रका व्यवस्थापन उप समितिका सम्पूर्ण पदाधिकारी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जैसीले संस्थाले सहकारीको महत्व बुझाएर समाज र स्थानीयलाई समृद्ध बनाउन अग्रसरता देखाएकोले आगामी समयमा संस्थाको प्रगति सँगै चौथो वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा पृथ्वी सेवा केन्द्र व्यवस्थापन उप समितिका सह संयोजक यमप्रसाद भुसालको स्वागत मन्तव्य रहेको थियो भने संस्थाका सचिव काफ्लेले सहजीकरण गरेका थिए।