देवचुली
भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय देवचुली ७ रामबासमा विद्यालय सुधार योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ। विद्यालयलाई कसरी सुधारोन्मुख गति तर्फ अघि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न उक्त कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताएका छन्। भुसालका अनुसार विद्यालयका लागी आवश्यक पर्ने सुधारका योजनाहरूको विश्लेषण गर्नु विद्यालयको महत्वपूर्ण कार्य भएकाले यसैका लागी सरोकारवाला निकायहरूलाई छलफलका लागी बोलाइएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछानेको अध्यक्षता तथा देवचुलीका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक नवराज घिमिरे , प्रधानाध्यापक अग्निधर भुसाल , पूर्व प्रधानाध्यापक राम प्रसाद शर्मा , शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा , देवचुली १२ का वडा अध्यक्ष लोक प्रसाद भुर्तेल लगायतले आजको मुख्य विषयमा आफ्नो बिचार राखेका थिए।
देवचुलीका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले अहिलेको समयमा प्रविधि मैत्री शिक्षणलाई प्राथमिकता दिनु पर्ने र शैक्षिक पूर्वाधारलाई जोड दिनु पर्ने भएकाले यसको लागि नगरपालिकाले सहयोग गर्ने कुरामा प्रतिवद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यालयका शिक्षकहरू मन प्रसाद पाण्डे , निर्मला काफ्ले , नवराज घिमिरे , यज्ञ मूर्ति रिजाल , सुनिता पौडेल र केशव भुसाल लगायतले कार्यशाला प्रस्तुति दिएका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक कृष्ण काफ्लेले गरेका थिए। यसै अवसरमा बोल्दै विद्यालयका शिक्षकहरूले विद्यालयका समस्या र समाधानको बारेमा बताएका थिए भने अभिभावकहरूले सुझावहरू राखेका थिए।
कार्यक्रमको समापनमा बोल्दै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चापागाँईले यस्ता सुधारका योजनाहरू बनाई अगाडि बढ्दा विद्यालयको चौतर्फी विकास हुने भएकाले उपस्थित सम्पूर्णलाई आभार व्यक्त गरेका थिए।