चितवन
चितवनको भरतपुर महानगरपालिकाले आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै सन् २०२४ लाई ‘भरतपुर भ्रमण वर्ष’का रुपमा मनाउने घोषणा गरेको छ । भ्रमण वर्षको शुभारम्भ हुन तीन महिनाको अवधि बाँकी रहेकाले तयारी पनि तीव्र गतिमा भैरहेको छ । भ्रमण वर्षको अवसरमा भरतपुर १ आँपटारीमा रहेको दियालो बंगला दरवार खुलाउने र ठोरीस्थित छोटी भन्सार नाका सन्चालमा ल्याउने प्रयास महानगरको छ ।
नारायणी नदी र राप्ती नदीको काखमा रहेको महानगरले भरतपुरको विकास र समृद्धिका लागि भैरहेका पूर्वाधार निर्माणलाई समेत देखाउन् अवसरका रुपमा भ्रमण वर्षलाई लिएको छ । त्यसैले भरतपुर नगर क्षेत्रका ३० वटा पर्यटकीय गन्तव्य र ७ वटा प्रमुख गन्तव्यहरुलाई प्राथमिकतामा राखेर प्रचार प्रसार, पूर्वाधार निर्माण र प्रवर्द्धनका कामहरू अगाडि बढाएको छ ।
महानगरका पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार भ्रमण वर्षमा कम्तीमा २ लाख विदेशी पर्यटक भरतपुर ल्याउने लक्ष्य महानगरको छ । त्यसका लागि वर्षभरी गर्ने क्रियाकलापहरुको क्यालेण्डर नै प्रकाशन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
भरतपुर महानगरले भारतको उत्तरी क्षेत्रबाट बढीभन्दा बढी पर्यटकलाई भरतपुरसम्म आउन सहज होस् भनेर पर्साको ठोरीस्थित छोटी भन्सार नाका सञ्चालन गर्न अनुरोध गर्दै भन्सार विभागमा पत्राचारसमेत गरेको नगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
ठोरीमा नाका भए पनि कर्मचारी नहुँदा भारतीय पर्यटकहरू सवारी साधनसहित आउन समस्या भैरहेको छ । पर्साको ठोरीमा छोटी भन्सार कार्यालय छ तर कर्मचारी छैनन् । झण्डै तीन वर्ष अगाडि नै नयाँ भवन बन्यो तर अहिलेसम्म यो भन्सार सञ्चालनमा आएको छैन । यहीँ नाका भएर निजी सवारी साधनमा भारतीय पर्यटकहरू ठोरीसम्म आउँछन् तर त्यसभन्दा भित्र (नेपालमा) आउन पाउँदैनन् ।
उनीहरु ठोरी हुँदै भरतपुरसम्म आउन जम्मा ६५ किलोमिटर छ तर नेपाल प्रवेशको अनुमति नपाएपछि दुःखी भएर फर्कने गरेको स्थानीय सुदिप थापा बताउँछन् । भारतीय पर्यटकका सवारी साधनलाई कम्तीमा पनि भरतपुरसम्म आउने अनुमति ठोरीबाट प्रदान गर्न सके भरतपुर भ्रमण वर्षमा थुप्रै पर्यटकहरू भरतपुर लगायतका क्षेत्रमा आउन सहज हुने उनी बताउँछन् ।
‘वीरगञ्ज पुगेर भन्सारको अनुमति लिएर आउन टाढा र अपायक पर्ने भएकाले ठोरी नाकाबाट नै यस्तो अनुमतिको व्यवस्था गर्न सके नाकाबाट राजश्व संकलन र भरतपुरमा भारतीय पर्यटकको संख्या अत्याधिक बढाउन सकिने सम्भावना हुन्थ्यो,’ थापाले भन्छन्, ‘आफ्नै सवारी साधन लिएर भरतपुरसम्म घुम्न आउन सक्ने वा नेपालका अन्य भागमा जान सक्ने अनुमति प्रदान गर्न सके, भारतीय पर्यटकहरु ठूलो संख्यामा भित्रिनेमा राज्यले त्यसतर्फ ध्यान दिन सकेको छैन ।’
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले ठोरी भन्सार चलाउन सकिने सम्भावनाको विषयमा बुझ्नुपर्ने बताए । यता भन्सार चलाउँदा भारतीय क्षेत्रमा पनि भन्सार भए राम्रो हुन्छ, ठोरीमा त्यस्तो छैन, तर हामीले केही ठाउँमा अस्थायी व्यवस्था गरेर पैठारीको अनुमति प्रदान गरेका छौं,’ महानिर्देशक पौडेलले भने, ‘ठोरीमा के रहेछ म वीरगञ्जमा बुझ्छु ।’ भरतपुर महानगरले ठोरी भन्सार सञ्चालन गरेर सवारी साधनको अस्थायी पैठारीको अनुमति माग गरेको भन्ने विषयमा भने महानिर्देशक पौडेलले अनभिज्ञता प्रकट गरे ।
यस्तै महानगरले भरतपुर भ्रमण वर्षमा भरतपुर १ आँपटारीमा नारायणी नदी किनारमा रहेको दियालो बंगला दरवारलाई खुला गर्न माग गरेको छ । महानगरले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमार्फत नेपाल ट्रष्ट कार्यालयमा दरवार अवलोकनका लागि खुला गर्न आवश्यक सहयोग गरिदिन भनेर पत्राचारसमेत गरेको छ ।
तत्कालीन राजा महेन्द्रले निर्माण गरेको दियालो बंगला ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । राजा महेन्द्रको निधन यही बंगलामा भएको थियो । राजा महेन्द्र बेलाबखत परिवारसहित यही दरवारमा आएर बस्ने, नारायणी नदी किनार क्षेत्रमा घुम्ने गर्दथे । राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाएका थिए ।
हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो दरवारको पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्व राजारानी महेन्द्र र वीरेन्द्रको तस्वीर राखिएको छ । भर्याङमा २०२६ सालमा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।
दरबारमा पाँचवटा बेडरुम छन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ ।
केही पर सवारी साधन राख्ने ग्यारेज छ । त्यसको छेउमा पौडी पोखरी छ । मनमोहक तटीय क्षेत्र, जलपर्यटनका क्रियाक्रलापहरु, साल, जामुन, यमुना, सिन्दुर, सिसौ जस्ता रुखहरुको हरियालीे, विभिन्न वनस्पति, चराचुरुङ्गी एवम् राजाहरुले प्रयोग गरेका सामग्रीहरु यहाँका प्रमुख आकर्षण हुन् । हाल दरवार क्षेत्रमा नेपाल ट्रष्टका केही कर्मचारी र नेपाली सेना मात्र छन् ।
भरतपुर महानगर प्रमुख रेनु दाहाल दियालो बंगला दरवारको थप संरक्षण र सम्वर्व्दधनसमेत हुने गरी यो दरवार खुला गर्नुपर्ने बताउँछिन् । ‘भरतपुर भ्रमण वर्षमा घुम्ने आउने पर्यटकका लागि एउटा थप गन्तव्य पनि हुन्छ, टिकट लिएर भित्र जाने घुम्ने गर्दा त्यहाँबाट आउने रकम दरवारकै संरक्षण र सम्वर्द्धनका लागि पनि हुन्छ,’ नगर प्रमुख दाहालले भनिन्, ‘ऐतिहासिक महत्वका दरवार हेर्ने चाहना सबैको छ ।’