काठमाडौँ
एसिया कप क्रिकेटमा सोमबार नेपालले आफूभन्दा निकै बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । आईसीसी एकदिवसीय वरीयतामा भारत तेस्रो नम्बरमा छ भने नेपाल १५औँ स्थानमा छ । नेपालले पहिलो पटक एसिया कप खेल्दैछ भने भारतले सात पटक एसिया कपको उपाधि नै चुमिसकेको छ ।
यसका अतिरिक्त भारत दुई पटकको विश्वकप विजेता राष्ट्र पनि हो । यी दुई चरित्र बोकेका टोली सोमबार एसिया कपमा ‘सुपर फोर’ चरणमा पुग्ने लक्ष्यसहित आपसमा भिड्दै छन् । उक्त खेलमा विजयी हुने टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्नेछ ।
त्यसैले यतिबेला ठुलो सङ्ख्यामा नेपाली समर्थक आफ्नो टोलीको हौसला बढाउन श्रीलङ्काको केन्डी पुगेका छन् । पहिलो पटक एसिया कप खेलिरहेका आफ्ना खेलाडीको मनोबल बढाउन नेपालबाट विभिन्न क्षेत्रका व्यक्ति अहिले केन्डीमा छन् ।
त्यसैले यतिबेला ठुलो सङ्ख्यामा नेपाली समर्थक आफ्नो टोलीको हौसला बढाउन श्रीलङ्काको केन्डी पुगेका छन् । पहिलो पटक एसिया कप खेलिरहेका आफ्ना खेलाडीको मनोबल बढाउन नेपालबाट विभिन्न क्षेत्रका व्यक्ति अहिले केन्डीमा छन् ।
यो यथार्थबाट विश्व क्रिकेट पनि राम्ररी परिचित छ । घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा हजारौँको सङ्ख्यामा समर्थकहरू आफ्ना खेलाडीको हौसला बढाउन रंगशाला पुगेका हुन्छन् । चाहे वर्षा होस् वा चर्को घाम, नेपाली क्रिकेट समर्थकलाई रंगशाला पुग्नबाट कुनै पनि प्रतिकुल परिस्थितिले रोक्न सकेको देखिँदैन ।
प्रतियोगिता सुरु हुनुभन्दा निकै अगाडि रंगशालामा ओइरिने यी समर्थकहरू नै वास्तवमा नेपाली क्रिकेटको सबैभन्दा सुन्दर पक्ष हो । नेपाली क्रिकेट खेलाडी पनि आफूलाई हृदयदेखि माया गर्ने हजारौँ समर्थकमाझ खेल्न अभ्यस्त भइसकेका छन् ।
तर, विदेशी भूमिमा आयोजना हुने प्रतियोगिताहरूमा भने नेपाली खेलाडीले नेपाली क्रिकेटलाई मनैदेखि माया गर्ने समर्थकको खासै साथ पाउँदैनन् । क्रिकेट टोलीको हौसला बढाउन विदेश जाने परिपाटी पनि नेपाली समर्थकमा खासै बसिसकेको छैन ।
तर, यसपटक नेपाली टोली एसिया कपजस्तो महत्त्वपूर्ण मञ्चमा उपस्थित भएकाले यो ऐतिहासिक क्षणलाई उल्लासमय बनाउन ठुलो सङ्ख्यामा नेपाली क्रिकेट समर्थक श्रीलङ्कामा ओइरिएका छन् । यसअघि आयोजक राष्ट्रविरुद्धको खेलमा आफ्नो टोलीको हौसला बढाउन पनि ठुलो सङ्ख्यामा नेपाली समर्थक पाकिस्तान पुगेका थिए ।
तर, पाकिस्तानभन्दा पनि बढी नेपाली क्रिकेट समर्थक अहिले श्रीलङ्कामा ओइरिएका छन्, एउटा ऐतिहासिक क्षणको साक्षी बन्न । पक्कै पनि श्रीलङ्काको केन्डीमा ऐतिहासिक प्रतियोगिता खेलिरहेका नेपाली क्रिकेटरको मनोबल उच्च बनाउन समर्थकहरूको यो उत्साहजनक उपस्थितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
यसरी आफ्ना खेलाडीको मनोबल बढाउन श्रीलङ्का पुग्ने समर्थकमा राजनीतिज्ञदेखि लिएर कलाकारसम्म रहेका छन् । यसका अतिरिक्त ठुलो सङ्ख्यामा उद्योगी—व्यवसायी र सञ्चारकर्मी पनि नेपाली टोलीको हौसला बढाउन श्रीलङ्का पुगेका छन् ।
साभारःरातोपबटीबाट