देवचुली, भाद्र १८
विद्यालयहरुमा विद्यार्थीहरुलाई शैक्षिक ज्ञानसँगै अन्य विविध क्रियाकलापमा समावेश गराई उत्कृष्ट हुने होडबाजी नै चलेको छ । जसले गर्दा विद्यार्थी स्वयंमले आँफू भित्र भएका प्रतिभाहरुलाई उजागर गर्ने अवसर पाइरहेका छन । विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराईरहँदा नाटकलाई पनि विद्यालयहरुले प्राथमिकतामा राख्ने गरेका छन् । विद्यार्थीहरुमा विविधता नै नाटकको आवश्यकता भन्दै देवचुली वडा नं ७ मा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयले नाटक कक्षा संचालनमा ल्याएको छ । आइतबार ह्याप्पी एफ।एमको आयोजना र भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयको समन्वयमा विद्यालयमा नाटक कक्षाको शुभारम्भ गरिएको हो ।
नाटक कक्षामा विद्यार्थीहरुलाई नाट्य क्षेत्रको सिद्धान्त, नाट्य क्षेत्रमा आवश्यक पर्ने व्यवहारिक ज्ञान सिकाइने एफ.एमका आर्ट डाइरेक्टर तथा आरोहण गुरुकुलका प्रशिक्षक राज न्यौपानेले बताउनुभयो । उहाँले बालबालिकाले नाटकबाट समाजमा घटेका यथार्त घटनालाई चित्रण गर्न सक्ने क्षमताको विकास हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले नवलपुर जिल्लाको नाट्य इतिहासलाई जोगाउन साथै बालबालिका भित्र भएका प्रतिभालाई नाटकको माध्यमबाट प्रस्फुटन गर्न विद्यालयहरुमा नाटक शिक्षाको कक्षा संचालन गरिएको बताउनुभयो । उहाँले अन्य विद्यालयहरुले पनि नाटक कक्षा संचालन गरे भविष्यमा राम्रा राम्रा कलाकार नवलपुरबाट उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।
नाटक कक्षा शुभारम्भ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले शैक्षिकज्ञान मात्रै नभई अब विद्यार्थीहरुलाई नाट्य शिक्षाको पनि आवश्यकता रहेको बताउनुभएको थियो । उहाँले अहिलेको युगमा बालबालिकालाई शैक्षिक ज्ञानमा मात्रै ध्यान दिनुभन्दा पनि विद्यार्थी रुचि र उनीहरुको मनोवल बुझ्न आवश्यक रहेको बताउनुभयो । नाट्य शिक्षाले भविष्यमा भीमसेनबाट राम्रो नतिजा आउने बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा, देवचुली नगरपालिकाका बालमैत्री परामर्शा दाता खिमानन्द भुसाल, देवचुली वडा नं ७ का वडाध्यक्ष भूमिसरा आले, कराँते महासंघ जिल्ला उपाधयक्ष भूपराज पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भीमसेन आदर्श नमूना मा।वि व्यवस्थापन समितिका अध्यक्ष भमिलाल लामिछानेको अध्यक्षतामा नाट्य कक्षा संचालनको शुभारम्भ गरिएको थियो । नाटक कक्षामा भीमसेन आदर्श नमूना मा.विमा अध्ययनरत कक्षा ६, ७ र ९ का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिलले गत बर्ष नवलपुरमा गरिएको एक चिहान नाटक मञ्चनले यहाँका विद्यार्थीहरुमा सकारात्मक प्रभाव परेको भन्दै पुन :एफ.एमले पोखरा थियटरको सहयोगमा नाटक मञ्चन गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो । उहाँले ह्याप्पी एफ एमले यस अघि दिव्य एकेडेमी र ओएसिस बोर्डिङ्ग स्कुल, मुनलाईट आदर्श पब्लिक एकेडेमीमा नाटक शिक्षा अध्यापन गराउन सुरु गरिसकेको बताउनुभयो । एफ एमले अन्य विद्यालयहरुमा पनि नाटकका कक्षा सञ्चालन गर्दैछ ।