देवचुली,
विद्यार्थीहरुलाई शैक्षिक सिकाईसँगै विद्यार्थीहरु भित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउन विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरिएको पाईन्छ । कतिपय बालबालिकाले आँफूभित्र रहेको प्रतिभालाई खुलेर प्रस्तुत गर्न नसक्दा पनि पछि परिरहेको हुन्छन् । विद्यार्थीहरु भित्र भएका प्रतिभालाई प्रस्फुटन गराउन तथा नाट्य विधालाई अगाडि बढाउन दलदलेको मुनलाईट पब्लिक एकेडेमीमा नाटक कक्षाको शुभारम्भ गरिएको छ । ह्याप्पी एफ.एमको आयोजनामा दलदलेको मुनलाईट पब्लिक एकेडेमीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यालयमा नाटक कक्षाको शुरुवात गरिएको हो ।
विद्यार्थीहरुले अभिनयबाट समाजमा घटेका यर्थाथ घटना र पाठ्यक्रममा भएका नाटकलाई सरल भाषामा बुझाउन नाट्य कक्षा विद्यालयमा शुभारम्भ गरिएको ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले जानकारी गराउनुभयो । उहाँले देवचुली नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा नाट्य कक्षा संचालन गर्न सके विद्यार्थीहरुको मनोबलमा सकारात्मक प्रभाव पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा मुनलाईट पब्लिक एकेडेमीका प्रधानाध्यापक चन्द्रकान्त बस्यालले ह्याप्पी एफ.एमले विद्यालयहरुमा ल्याएको नाट्य कक्षा फलदायी रहेको र यसले बालबालिकामा सकारात्मक सन्देश पुर्याउने बताउनुभएको थियो ।
कार्यक्रममा बालमैत्री परामर्शादाता नारायणप्रसाद पौडेलले विद्यार्थीहरुको चाहना र उनीहरुको मनोभावना बुझ्ने किसिमको कार्यक्रम संचालन गर्ने प्रयास ह्याप्पी एफ.एमले गरेको बताउनुभयो । उहाँले विद्यार्थीहरुले लेखाई र पढाईलाई निरन्तरता दिईरहँदा नाट्य कक्षाबाट पनि धेरै कुरा सिक्न सक्ने बताउनुभएको थियो ।
पछिल्लो समय विद्यालयमा विद्यार्थीहरुको मनोभावना बुझेर कक्षा संचालन गरिरहेको पाउँदा निकै खुशी लागेको देवचुली १३ का वडाध्यक्ष एकदेव पौडेलले बताउनुभयो । नाट्य कक्षा मार्फत भविष्यमा विद्यार्थीहरुले समाजमा भएका घटनालाई अभिनय मार्फत चित्रण गर्दा समाजमा जनचेतना फैलिने साथै विद्यार्थीहरुमा पनि कुनै कुराको निर्णय गर्दा सहि वा गलत भन्ने कुरा छुटाउन सहज हुने बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्लेले नाटकबाट अरु कुनै विषय भन्दा पनि जीवन के हो भन्ने कुरा सिक्न सकिने हुँदा विद्यार्थीहरुले यसलाई मन लगाएर सिक्न आग्रह गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुलाई नाट्क मार्फत आफ्नो कलालाई राष्ट्रिय तथा अन्तर्रााष्ट्रिय क्षेत्रमा चिनाउन सक्ने भन्दै सम्पूर्णलाई शुभकामना व्यक्त गर्नुभएको थियो । ह्याप्पी एफ.एमले नाटकलाई समाजसँग जोड्न लिएको यो विषयलाई सम्मान गर्दै काफ्लेले भविष्यमा नाट्य विधालाई अगाडि बढाउन नगरपालिकासँग समन्वय गरि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा एफ एमका स्टेशन म्यानेजर आदर्श सुशीलले नवलपुर जिल्लामा नाटकको इतिहासको चित्रण गर्दै विद्यार्थीहरुमा नाट्य शिक्षाको महत्व औंल्याउनुभएको थियो । उहाँले गत साल नवलपुरमा गरिएको एक चिहान नाटक मञ्चनले यहाँका विद्यार्थीहरुमा सकारात्मक प्रभाव परेको भन्दै पुन : एफ.एमले पोखरा थियटरको सहयोगमा नाटक मञ्चन गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो ।
एफ एमका आर्ट डाइरेक्टर तथा आरोहण गुरुकुलका प्रशिक्षक राज न्यौपानेले विद्यार्थीहरुले नाटकबाट जीवनको भोगाई, जीवन कसरी जिउने, दुख सुखका धेरै कुरा सिक्न सकिने वताउनुभयो । ह्याप्पी एफ एमले यस अघि दिव्य एकेडेमी र फारममा रहेको ओएसिस बोर्डिङ्ग स्कुलमा नाटक शिक्षा अध्यापन गराउन सुरु गरिसकेको छ । एफ एमले आगामी साताबाटै भीमसेन आदर्श, विश्वज्योती सेकेण्डरी, लगायतका विद्यालयहरुमा पनि नाटकका कक्षा सञ्चालन गर्दैछ ।