नयाँदिल्ली — ‘इन्डिया, म आफ्नो गन्तव्यमा पुगें र तिमी पनि १’ यो ‘चन्द्रयान ३’ ले चन्द्रमाको दक्षिण ध्रुवस्थित सतहबाट पठाएको पहिलो सन्देश हो । अमेरिका, तत्कालीन सोभियत संघ र चीनले चन्द्रमामा अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराइसके पनि प्रकाश कम हुने दक्षिणी ध्रुव नजिकै क्षेत्रमा यान अवतरण गराउने भारत पहिलो देश बनेको छ ।हिउँ वा जमेको पानी रहेको त्यस क्षेत्रमा यानले आगामी १५ दिनसम्म अनुसन्धान गर्ने अनुमान गरिएको छ । त्यहाँ रहेका खनिजहरू भविष्यको चन्द्र अभियान वा चन्द्रमामा बस्ती बनाउने विषयका लागि अक्सिजन, इन्धन र पानीको स्रोत हुन सक्ने अनुमान गरिँदै आएको छ । अनुसन्धानको क्रममा चन्द्रमाको सतहमा रहेका खनिजहरूको ‘स्पेक्ट्रोमिटर एनालाइसिस’ गरिने इन्डिया स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ । जसअन्तर्गत चन्द्रमाको सतहमा भेटिने खनिज रहेका तत्वहरूको छुट्टाएर अध्ययन गरिन्छ ।
इसरोले असार २९ मा आन्ध्र प्रदेशको श्रीहरीकोटास्थित सतिश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान प्रक्षेपण गरेको थियो । मानवरहित चन्द्रयान–३ ले बुधबार भारतीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा छोएको हो । भारतले १४ जुलाई २०२३ मा पठाएको चन्द्रमा मिसनको अन्तरिक्ष यानले ४० दिनमा सफल यात्रा गरेको छ । अमेरिकाको नासा र युरोपियन स्पेस एजेन्सीलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सफलताका लागि इसरोलाई बधाई दिएका छन् । नासाका प्रशासक बिल नेल्सनले चन्द्रमामा सफलतापूर्वक ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देश बनेकोमा भारतलाई बधाई भनेका छन् ।
चन्द्रयान–३ को सफलतासँगै वैश्विक मञ्चको अन्तरिक्ष मिसनमा भारतको सशक्त उपस्थिति भएको छ । भारतले तेस्रो प्रयासपछि चन्द्रमाको यात्रामा पूर्ण सफलता पाएको छ । उक्त सफलतापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरूलाई बधाई दिएका छन् । अभियानको सफलतासँगै जनस्तरमा खुसियाली मनाइएको छ । विपक्षी पार्टीहरूले पनि सफलताका लागि इसरो तथा मिसनमा संलग्न वैज्ञानिकहरूलाई बधाई दिएका छन् । भारतले सन् २००८ मा पहिलो पटक चन्द्रयान–१ लाई चन्द्रमामा पठाएको थियो । तर, ९५ प्रतिशत लक्ष्य हासिल गरिसकेको उक्त यानको पृथ्वीसँग अचानक सम्पर्क टुट्न पुगेको थियो । तर, उक्त मिसनले भारतलाई चन्द्रमाको कक्षसम्म भने पुर्याएको थियो ।
त्यसको १० वर्षपछि २२ जुलाई २०१९ मा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रयान–२ चन्द्रमातर्फ पठाएको थियो । तर, अन्तिम क्षणमा चन्द्रमामा ल्यान्डिङ गर्ने समयमा त्यससँग सम्पर्क टुट्न पुगेको थियो । चन्द्रयान–२ को सफल अवतरणको अपेक्षा पूरा भारतले राखेको थियो । दोस्रो पटक उक्त मिसनको प्रत्यक्ष प्रसारण वैज्ञानिकहरूसँगै बसेर हेर्न प्रधानमन्त्री मोदी इसरोको केन्द्रीय कार्यालयमा उपस्थित थिए । तर, ७ सेप्टेम्बर २०१९ को उक्त रात इसरोको कार्यालयमा निराशा छायो । मिसनले सफलता प्राप्त गरेन । वैज्ञानिकहरूमा रुवावासी नै चल्यो । इसरोका प्रमुख के सिभानले आँसु नै झारे । प्रधानमन्त्री मोदीले उनलाई धाप मार्दै अर्को प्रयासका लागि हौसला दिएका थिए ।
तेस्रो प्रयासमा भएको सफलतामा प्रधानमन्त्री मोदी इसरो कार्यालयमा उपस्थिति थिएनन् । उनी ब्राजिल, चीन, भारत, रुस र दक्षिण अफ्रिकाको समूह ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिका पुगेका छन् । उनले भर्चुअली भारतको चन्द्रयान सफलता प्रत्यक्ष हेरेका थिए । र, इसरोका अध्यक्ष एस सोमनाथले चन्द्रयान–३ सफल भएको घोषणा गरेसँगै मोदीले ताली बजाएका थिए । सफलता लगत्तै इसरो अध्यक्ष सोमनाथले भनेका थिए– ‘इन्डिया इज अन द मुन ।’ त्यसलगतै भर्चुअली सम्बोधन गर्दै मोदीले भने– ‘यो पल अविस्मरणीय हो । यो क्षण अभूतपूर्व हो । यो क्षण विकसित भारतको शंखनाद हो । यो नयाँ भारतको जयघोष (जयजयकार) हो ।’ उनले वैज्ञानिकहरूलाई बधाई दिएका थिए । उनले चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने भारत पहिलो देश बनेको र यसले चन्द्रमासँग जोडिएका धेरै मिथहरू अब बदलिने उल्लेख गरे । मोदीले भारतले अब छिट्टै सूर्यको विस्तृत अध्ययनका लागि र शुक्रसम्म पुग्ने लक्ष्य लिएर अगाडि बढिसकेको बताए ।
ब्रिक्स सम्मेलन चलिहरेको बेला र सेप्टेम्बर ९ र १० मा नयाँदिल्लीमा हुन गइरहेको जी–२० को पूर्वसन्ध्यामा भारतले पाएको यस सफलताले वैश्विक मञ्चमा थप चर्चा पाएको छ । अर्कोतिर, गत साता रुसको चन्द्रमा यात्राले असफलता प्राप्त गरेका कारण भारतको सफलताले अझ महत्त्व पाएको छ । भारतीय चन्द्रयान अवतरण गर्ने स्थानभन्दा १ सय किलोमिटर टाडा चन्द्रमाको दक्षिणी ध्रुवमै अवतरणको लक्ष्य लिएर रुसले लुना–२५ यान पठाएको थियो । भारतभन्दा पछि पठाएर अगाडि नै पुग्ने लक्ष्य रहेको रुसी अन्तरिक्ष यान गत साता ल्यान्डिङ गर्ने बेलामा दुर्घटनामा परेको थियो । भारतले चन्द्रयान–३ पठाएको करिब एक महिनापछि रुसले ११ अगस्टमा लुना–२५ पठाएको थियो । भारतको यानभन्दा तीव्र गतिका साथ छिटो अवतरण गर्ने रुसी यानको लक्ष्य थियो । तर, ४७ वर्षपछि रूसले गरेको चन्द्रमा यात्राको प्रयास विफल हुन पुगेपछि विश्वकै नजर भारततर्फ थियो ।
चन्द्रयान–३ ले पृथ्वीबाट ३ लाख ८३ हजार ४ सय किलोमिटरको यात्रा पूरा गरेर चन्द्रमामा पुगेको हो । चन्द्रयान–३ ले चन्द्रमामा पुर्याएको प्रज्ञान रोवर्सले चन्द्रमाका बारेमा शोध गरेर पृथ्वीमा जानकारी पठाउने छ । चन्द्रयानको सफल अवतरणपछि प्रेसलाई ब्रिफ गर्दै इसरो अध्यक्ष सोमनाथले भनेका छन् –‘चन्द्रयानको विक्रम लैंडर चन्द्रमामा पुगिसकेको छ । त्यसमा रहेको प्रज्ञान रोवरले अब चन्द्रमाको अध्ययन गर्नेछ ।’
साभारःइकान्तिपुरबाट