काठमाडौँ
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिकुल मौसमका कारण चितवनबाट फर्किन ढिलाइ भएको छ । प्रधानमन्त्री आइतबार बिहान चितवनबाट फर्किने तय भएपनि खराब मौसमका कारण उडान डिले भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार मौसम खुलेलगत्तै प्रधानमन्त्री प्रचण्ड काठमाडौँ आइपुग्नेछन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार गृह जिल्ला चितवन पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड पारिवारिक भेटघाट र आरामका लागि त्यहाँ पुगेको बताइएको छ ।
सो क्रममा प्रधानमन्त्री प्रचण्ड भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बसेका थिए । श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड पहिलो पटक चितवन गएका हुन् । प्रधानमन्त्री प्रचण्डले चितवनबाट फर्किएर मन्त्रिपरिषद् पुनर्गठनबारे निर्णय लिने बताइएको छ । प्रधानमन्त्री फर्किन ढिलाइ भएकै कारण मन्त्री हेरफेरबारे निर्णय लिन ढिलाइ भएको बताइएको छ ।
सल्लाहकार गोविन्द आचार्यका अनुसार जनमत पार्टीबाट एक जनालाई मन्त्री बनाउने निश्चित भइसकेको छ । माओवादीबाटै मन्त्री हेरफेरबारे भने निर्णय भइनसकेको उनले स्पष्ट पारे । जनमत पार्टीबाट यसअघि नै अनिता कुमारी साहको नाम सिफारिस भइसकेको छ । यस्तै माओवादीबाट अमनलाल मोदी र सुदन किरातीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने चर्चा भएपनि निर्णय भइनसकेको आचार्यले स्पष्ट गरे ।
आचार्यले प्रधानमन्त्री फर्किएसँगै छलफलको आधारमा सबै विषय टुंगो लाग्ने बताए । ‘जनमतबाट मन्त्री बन्ने निश्चित हो । माओवादीभित्रकै विषय भने टुंगिसकेको अवस्था होइन’ आचार्यले भने, ‘प्रधानमन्त्री फर्किएपछि सबै विषय टुंगिएला ।’ प्रधानमन्त्री फर्किएपछि सबै विषय टुंगिने भएकाले सम्भव भए आज नत्र भोलि पर्सीसम्मा मन्त्रिपरिषद् पुनर्गठन हुने बालुवाटार स्रोतको भनाइ छ ।
यसैबीच राष्ट्रपति कार्यालयले पनि मन्त्रिपरिषद् हेरफेरबारे कुनै औपचारिक जानकारी नआएको बताएको छ । ‘हल्ला ब्यापक छ । तर, राष्ट्रपति कार्यालयमा आधिकारिक जानकारी आएको छैन । अहिलेसम्म शपथको कुनै कार्यक्रम तय छैन’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले रातोपाटीलाई बताए ।
साभारःरातोपाटीबाट