देवचुली
देवचुलीमा प्लाष्टिकको प्रयोगले वातावरणमा देखिएको असर र विकल्पको खोजी विषयक अन्तरकृया सम्पन्न भएको छ।
पारिवारिक निजी वन संघका केन्द्रिय सदस्य सीता भुसालको अध्यक्षता तथा देवचुली नगरपालिका नगर उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा देवचुली नगरपालिकाको कार्यपालिकाका सदस्य तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
इन्टरनेसनल डेभलपमेन्ट रिसर्च सेन्टरको आर्थिक सहयोगमा फरेस्ट एक्सन नेपाल, हिमवन्ती नेपाल, पारिवारिक निजी वन संघ र वन पैदावार उद्योग व्यवसायी महासङ्घको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले प्लास्टिकको प्रयोगले वातावरणमा प्रदुषण बढ्दै गइरहेकाले पालिकालाई प्लास्टिक जन्य फोहरमैलालाई व्यवस्थापन गर्नको लागि सुझाव दिएका थिए।
कार्यक्रममा वन उद्यमबाट महिलाहरूको सशक्तीकरण परियोजनाका बारेमा फरेस्ट एक्सन नेपालका कार्यक्रम संयोजक कमल भण्डारी , जलवायु परिवर्तन र यसबाट अमरहरूका बारेमा हिमवन्ती नेपालका उषा ठकुरीले , प्लास्टिकको न्यूनीकरणका विषयमा वेटर चितवनका संस्थापक संयोजक सागर कार्कीले र देवचुली नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि गरेका कार्यका बारेमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले सहजीकरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उप प्रमुख पार्वता तिवारीले प्लास्टिकको प्रयोग कम गर्न के गर्न सकिन्छ भन्ने विषयमा नगरपालिकाले योजना निर्माण गरि कार्यान्वयन गर्ने बताएकी थिइन्।
कार्यक्रममा नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरू, सदस्यहरू, पारिवारिक निजी वन संघका जिल्ला अध्यक्ष होमनाथ पाण्डे लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।