गैडाकोट
युनिक सेकेन्डरी इङ्गलिस स्कुल गैडाकोट १६ मा आज शनिबार २०७९ मा एसईई परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरूको लागी बधाई सँगै बिदाई कार्यक्रम गरिएको छ। विद्यालयमा कक्षा १० मा अध्ययनरत आर्या भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष बद्रि प्रसाद सापकोटाको अध्यक्षता रहेको थियो।
कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरूको तर्फबाट आफ्नो भनाई राख्दै अभिषेक पौडेलले विद्यालयमा बिताएको १३ वर्ष समय जीवनको सबै भन्दा अमूल्य पल भएकाले चाहेर पनि कहिल्यै भुल्न नसकिने बताउँदै क ख पढाउने गुरु आमा देखि साइन ठिटा पढाउने सम्पूर्ण गुरुहरूलाई जीवनको बाटो देखाइदिएको भन्दै आभार व्यक्त गरेका थिए।
विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्माले विद्यार्थीहरूलाई अबका दिनमा संयमित भएर जीवनको अध्याय कोर्न आग्रह गर्नुभएको थियो।
प्रिन्सिपल शर्माले विद्यालयले अबका दिनमा कुनै पनि हालतमा ४ जीपीए ल्याएरै छोड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो।
प्राथमिक तहका विद्यार्थीहरूको नृत्य रहेको कार्यक्रममा शिक्षकका तर्फबाट विद्यालयका एकेडेमिक हेड सिता भण्डारीले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई भौतिक सम्बन्ध सकिए पनि आत्मियता र अभिभावकत्व कहिल्यै नसकिने बताउँदै बधाई दिनुभएको थियो।
कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहनुभएका गैंडाकोट १६ का वडा अध्यक्ष बिनोद मल्लले यस वडामा भएको एक मात्र विद्यालयले हरेक पटक एसईई मा उत्कृष्ट हुँदै आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अझ प्रगति गर्न र आगामी दिनको लागी सम्पूर्णमा विद्यार्थीहरूलाई समुज्ज्वल भविष्यको कामना गर्नुभएको थियो।
कार्यक्रममा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई मायाको चिनो प्रदान गर्दै उत्कृष्ट नतिजा ल्याउने प्रनिश रानाभाट र अभिषेक पौडेललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।
सोही अवसरमा कक्षा १० मा अध्यापन गर्नुहुने शिक्षकशिक्षिकाहरूलाई समेत सम्मान गरिएको थियो।