गैंडाकोट
गैंडाकोट १६ मा रहेको युनिक सेकेन्डरी इङ्गलिस स्कुलले राष्ट्रिय सेवा दलको सहयोगमा आज बुधबार वृक्षारोपण गरेको छ।
विद्यालयले गैंडाकोट १५ मा रहेको शीतल सामुदायिक बन क्षेत्रमा वृक्षारोपण गरेको हो। राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तीखोर ब्यारेक नवलपुरद्वारा सञ्चालित राष्ट्रिय सेवा दल सि.सं ४९ औं जुनियर डिभिजनमा छनोट भएका यस विद्यालयका विद्यार्थीहरूले वृक्षारोपण गरेका हुन् । बन क्षेत्रमा विद्यार्थीहरूले हर्रो , बर्रो , अमला , कागती , तेजपत्ता , खंनिम , मसला लगायतका बिरुवा रोपेका छन्।
उत्साहजनक रुपमा वृक्षारोपण गर्ने क्रममा बोल्दै विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्माले यसरी वृक्षारोपण गर्दा पर्यावरणमा राम्रो असर पर्ने र हरियाली वातावरणले सकारात्मक सोचको विकासमा सहयोग समेत पुग्ने भएकाले आगामी दिनहरूमा अन्य स्थानहरूमा पनि बिरुवा रोप्ने बताउनुभएको थियो। मध्य तालिम शिक्षालय हात्तीखोरका सह- सेनानी ललित कुमार चौधरीले आफ्नो भनाई राख्दै गो ग्रीन अभियान अन्तर्गत रही वृक्षारोपण कार्यक्रम गरिएको हुनाले यसरी रोपिएका बिरुवाको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभएको थियो।
गैंडाकोट १६ का वडा अध्यक्ष बिनोद मल्लले विद्यालयले आयोजना गरेको यस कार्यक्रम एकदम समय सान्दर्भिक रहेकोले विद्यालयलाई धन्यवाद दिँदै एनसीसी प्रशिक्षणको सफलताको शुभकामना दिनुभएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्मा , मध्य तालिम शिक्षालय हात्तिखोरका सह- सेनानी ललित कुमार चौधरी , जर्साब शंकर खड्का , गैंडाकोट १६ का वडा अध्यक्ष बिनोद मल्ल , गैंडाकोट १५ का वडा अध्यक्ष प्रेम तिमिल्सेना , शीतल सामुदायिक बनका अध्यक्ष पार्वती पौडेल , सुन्दरी सामुदायिक बनका अध्यक्ष बाबुराम खनाल सहित बनका पदाधिकारीहरू सँगै विद्यालयका शिक्षकशिक्षिकाहरूको उपस्थिति रहेको थियो।
नेपाल सरकारले सञ्चालन गरेको एनसीसी तालिममा सक्रिय रहेका विद्यार्थीहरूले वातावरण संरक्षणका लागि वृक्षारोपण गर्न पाउँदा आफूहरू समेत खुसी भएको बताएका थिए।