देवचुली,
देवचुली नगरपालिका वडा नं १५ प्रगतिनगरमा रहेको विश्वज्योति माध्यमिक विद्यालयको आयोजनामा राष्ट्रिय सेवा दलद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बुधबार देवचुली १५ मा रहेको पशुपति साङ्गवेद आवसीय मा.वि र विश्वज्योति मा.विमा विभिन्न जातका विरुवा रोपिएको हो । राष्ट्रिय सेवा दल सि.सं ४९औं जुनियर डिभिजनमा छनोट भएका विद्यार्थीहरुले विद्यालय परिसरमा वृक्षारोपण गरेका हुन् ।
विद्यालयमा कपुर, कागती, जामुन, रक्तचन्दन, पारिजात, शिरिष लगायतका विरुवा रोपिएको थियो । विश्वज्योति मा.वि व्यवस्थापन समितिका अध्यक्ष मोतिप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा हात्तीखोर ब्यारेकका प्रमुख सेनानी बासुशरण खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका सेनानी खड्काले नेपालका विभिन्न विद्यालयमा नेपाल सरकारले संचालन गरेको एनसीसी तालिममा सक्रिय रहेका विद्यार्थीहरुले वातावरण संरक्षणका लागि वृक्षारोपण गरिरहेको बताउनुभएको छ । उहाँले मानव जीवनमा अति उपयोग हुने वातावरणका लागि वृक्षारोपण महत्वपूर्ण रहेकाले यसमा सबै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै देवचुली १५ प्रगतिनगरमा रहेको पशुपति वैद्धिक आश्रमका पिठाधिस श्री १००८ स्वामी स्वरुपानन्द सरस्वती जी महाराजले भगवान सिताले आफ्नो कुटी वरिपरि विभिन्न प्रकारका वृक्षा रोपेर आफ्ना सन्तानलाई जस्तै सेवा गरेपछि तिनै वृक्षा बढेर स्वास्थ वातावरण दिएपछि वृक्षारोपणको महत्व पहिचान भएको उल्लेख गर्नुभएको थियो । साथै उहाँले मानिसको जीवनमा स्वास्थ वातावरण फैलाउन वृक्षारोपण अनिवार्य रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक विष्णु प्रसाद वास्तोलाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विद्यालयका प्रोग्राम कोओडिनेटर चन्दा बास्तोलाले गर्नुभएको थियो । कार्यक्रममा विश्वज्योति मा.विमा संचालन भइरहेको राष्ट्रिय सेवा दल सि.सं. ४९ औं जुनियर डिभिजनका लागि छनोट भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।