देवचुली,
देवचुली उद्योग वाणिज्य संघ र देवचुली नगरपालिकामा लगाइएको ताला एकै दिन खोलिएको छ । आइतबार देवचुली उद्योग वाणिज्य संघका पदाधिकारी र देवचुली नगरपालिका भित्रका बजार व्यवस्थापन समितिका पदाधिकारीहरु बिचको बैठकबाट सर्वसम्मत सहमत भएपछि देवचुली उद्योग वाणिज्य संघको ताला खुलेको हो ।
यसैगरि आइतबारनै देवचुली नगरपालिकामा उप–प्रमुखको कार्यकक्ष र राजस्व शाखामा लगाइएको ताला पनि खोलिएको छ । देवचुली नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ का लागि अस्वभाविक ढंगले करको दरलाई वृद्धि गरेको भन्दै असन्तुष्ट पक्षले आन्दोलन गर्दै विहिबार नगरपालिकामा ताला लगाएका थिए । उक्त आन्दोलन पश्चात् देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्लेको संयोजकक्तवमा ५ सदस्यीय कर पुनरावलोकन समिति गठन गरिएको थियो ।
समिति गठन पछि पटक– पटक बैठक बसि आइतबार उद्योग वाणिज्य संघ, बजार व्यवस्थापनलाई वार्ताका लागि आव्हान गरिएकाे थियो । आइतबार देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी, देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्ले, विभिन्न वडाका वडाध्यक्ष, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष एवम् पदाधिकारी, बजार व्यवस्थापन समितिका पदाधिकारी, होटल व्यवसायी संघ लगायतका व्यक्तित्वहरुको उपस्थितिमा बैठक बसि ताला खोल्ने निर्णय गरिएको हाे । उक्त निर्णय पश्चात् नगरपालिकाको उपमेयर र राजस्व शाखामा लगाइएको ताला खोलिएको हो ।
यसैगरि संघर्ष समिति देवचुली उद्योग वाणिज्य संघका संयोजक नारायण प्रसाद पौडेलले देवचुली नगरपालिकाबाट कर घटाउने कुरामा सकारात्मक देखिएपछि उप–प्रमुख र राजस्व शाखामा लगाइएको ताला खोलिएको बताउनुभएको छ । उहाँले करको दरलाई पहिलेकै अवस्थामा ल्याउन र व्यवसायीको पक्षमा रहेर निणर्य गर्न देवचुली नगरपालिकालाई आग्रह गर्नुभएको थियो ।
बैठकमा देवचुली नगरपालिकाका प्रवक्ता एवम् कर पुनरावलाेकन समितिका सयाेजक तिल प्रसाद काफ्लेले वृद्धि गरिएको कर पुनरावलोकन गरिने बताउनुभएको छ । उहाँले व्यवसायीहरुको हालको अवस्थालाई नगरपालिकाले ध्यानाकर्षण गरेकोले करको दरलाई पुनरावलोकन गरि समाधान गर्ने बताउनुभयो । विभिन्न राजनीतिक दलका पदाधिकारी, उद्योग वाणिज्य संघ र बजार व्यवस्थापन समितिका पदाधिकारीहरुसँग छलफल गरेर समस्यालाई समाधान गर्नतर्फ नगरपालिका लाग्ने उहाँले बताउनुभयो ।यता देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले व्यवसायीलाई मर्का पार्न खोजेर कर वृद्धि नगरिएको बताउनुभएको थियो । उहाँले आँफूहरुले काम गर्दै जाँदा केही त्रुटि भएको स्विकार्दै करको दरलाई पुनरावलोकन गरि व्यवसायीको पक्षमा रहेर केही मात्रा कर वृद्धि गर्ने बताउनुभएको थियो । नगरपालिकाको विकासका निम्ति कर वृद्धि आवश्यक रहेकाले उद्योग वाणिज्य संघ र बजार व्यवस्थापन समितिसँग सहकार्य गरेर मात्रै कर वृद्धि गर्ने नगरप्रमुख न्यौपानेले बताउनुभयो ।
देवचुली नगरपालिका भित्र रहेका साना तथा ठूला व्यवसायीहरुले करको दरलाई पुरानै बनाउन आग्रह गरेका छन् । नगरभित्रको उद्योग वाणिज्य संघमा १ हजार ९ सय २० ठूला तथा साना व्यवसाय दर्ता रहेका छन् ।