देवचुली
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । पूर्वी नवलपरासीको दलदलेमा पनि एक कार्यक्रमको आयोजना गरी भानुभक्तको सम्झना गरिएको छ । देवचुली साहित्य समाज र १०३.८ ह्याप्पी एफ.एम.को संयुक्त आयोजनामा काव्य वाचन गरिएको छ ।
नवलपरासी पूर्वका दुई दर्जनबढी साहित्यकारहरुले भानुको स्मृति गर्दै विभिन्न कविता गजल र मुक्तक सुनाए ।
नेपाली जनता सहेर कसरी के बस्नु कैले तक।
बिक्ने कानुन त्यो प्रशासन सबै छन् भ्रष्ट ती सेवक ।।
के लाग्छौ पछि अन्धभक्त हुन गै विश्वासको मर्म के ।
पीडा नै उपहार बन्दछ भने त्यो त्यागको अर्थ के ।।
कालो रात छ यो अझै पनि यहाँ हामी सधै दर्शक ।
सत्ता प्राप्त हुँदा प्रसन्न सब छन् हे(यौ नयाँ नाटक ।।
नवलपुरका छन्देली कवि लोकनाथ खरेलले कस्तो तन्त्र शीर्षकको कविता मार्फत नेपालको वर्तमान अवस्था तथा कानुन र प्रशासनका विषयमा कविता सुनाएर कविता वाचनको सिलसिलालाई लय दिएँ ।
अग्रज देखि अनुज पुस्ताका साहित्यकारहरु जमघट भएको कार्यक्रममा जीवन, जगत, सामाजिक भोगाई, लैंगिक विभेद मात्रै नभई मायाप्रेम र शृङ्गारका कुराहरु समेत कविहरुले आफ्ना रचनामा सुनाए।
हो, तपाईं सक्नुहुन्छ
किशोरीहरुलाइ सुकर्म र कुकर्मको पथ छुट्ट्याउन!
मलाइ एक जल्लाद वा बुद्व बनाउन!
मानवताबिहिन मान्छे वा सामान्य मान्छे बनाउन!!
आखिर म माटो न हुँ!
कुद्न सक्नुहुन्छ महोदय!
मानवताका रङ्गहरु मेरो अस्तित्वमा!
तपाईं सक्नुहुन्छ।
महोदय,
मलाइ सफल भविष्यका बाटाहरु कोर्न सिकाउनुहोस् !
पछिल्लो पुस्ताकी उदियमान कवि मनिशा पौडेलले "तपाईं सक्नुहुन्छ महोदय" शिर्षकको कविता मार्फत नारी संवेदनालाई छ्ताछुल्ल पारिन्।।
यता मुक्तककार सञ्जय भट्टराईले आफ्ना केही थान मुक्तक सुनाएर माहोल तताए। भट्टराईले मायाप्रेम र राजनितीमिश्रित मुक्तक मार्फत् भानुलाई सम्झिए।
हावा चलेको छ मन्द आँखा जुधे पछि
भईदियो सुनमा सुगन्ध आँखा जुधे पछि
एउटा प्रश्न मथिङगलमा यसरी दौडिरह्यो
कस्तो होला सम्बन्ध आँखा जुधे पछि
काव्य वाचन( लोक र श्लोकमा भानु नाम दिइएको कार्यक्रममा म्याउ म्याउ बिरालो जस्तो चर्चित बाल कविताका रचयिता कवि दीपक सोती, सदानन्द अभागी, करुण लम्साल, नारायण प्रभु, ताराप्रसाद सापकोटा, आइपी सापकोटा , शर्मिला सापकोटा, निमा पौडेल तिवारी, अशोक अधिकारी, शोभा कोइराला, प्रकृति न्यौपाने, होमनाथ न्यौपाने, सुप्रभा कोइराला , सबनम सुनार, विष्णु भट्टराई , मानसु न्यौपाने , भगवती गौतम, सन्दीप पराजुली, रसज्ञ छहरा लगायतले साहित्य मार्फत भानुभक्तप्रती श्रद्धाभाव प्रकट गरे।
सो अवसरमा साहित्यकार दुर्गा भुसाललाई देवचुली साहित्य समाजको आजीवन सदस्यता प्रदान गरियो।
ह्याप्पी एफ एमका प्रवन्ध निर्देशक दिपेश कडरियाको अध्यक्षता रहेको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रवक्ता तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो।
सो अवसरमा देवचुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तेजप्रसाद न्यौपानेले शुभकामना राख्नु भएको थियो। देवचुली साहित्य समाजका अध्यक्ष आदर्श सुशीलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण साहित्य समाजका सचिव सरोज उजाडले गर्नुभएको थियो।