देवचुली,
देवचुली नगरपालिका वडा नं १३ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। आर्थिक बर्ष २०७९–०८० मा कार्यालयबाट सम्पादन भएका कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धि कार्यको सार्वजनिक सुनुवाई भएको हो । सार्वजनिक सुनुवाईमा देवचुली वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेलले वडाले २०७९–०८० मा गरेका कार्यका विषयमा संक्षिप्त रुपमा जानकारी गराउनुभएको थियो । वडाले शिक्षामा कुमारवर्ती आधारभूत विद्यालय मर्मत, विपन्न असाय ४६ जनालाई छात्रवृत्ति वितरण, उत्कृष्ट २९ विद्यार्थीको परिवारलाई स्वास्थ्य विमा, शिक्षक अनुदान , प्रदेशको कार्यक्रम अन्तर्गत आइ.सि.टि. राष्ट्रपति सुधार कार्यक्रम , सामाजिक विकास मन्त्रालयको विज्ञान प्रयोगशाला कार्यक्रम सम्पन्न गरेको छ । यसैगरि कृषितर्फ वडाको कार्यक्रम अन्तर्गत भुमिगत पाईपलाइन, कृषि दिवसमा कृषकलाई सम्मान, कुमारवर्ती डिप बोरिङ्गमा पाइप लाइन बिस्तार, भाग्यपुरी डिप ट्युवेल सिँचाई जल उपभोक्ता समिति, कुमारवर्ती हरियाली स्यालो ट्युवेल, शुद्ध तरकारी स्वास्थ्य जिवन, ३ वटा कृषि फर्मलाई अनुदान, चैते धान प्रवद्र्धन गरि कार्य सम्पन्न गरिएको वडाध्यक्ष एकदेव पौडेलले जानकारी गराउनुभएको थियो ।
यसैगरि वडाले भौतिक पूर्वाधारतर्फ कुन्ती मार्ग, गणेश मन्दिर मार्ग, शिव शक्ती मार्ग, पुरानो मार्ग, राइनो मार्ग, सुन्दर मार्ग, गुरौ वस्ती बलिराम बस्ती जाने बाटो, कुमारवर्ती आधारभूत विद्यालय र न्यू रोड मार्गको स्तरोन्नती भएको छ । वन वातावरण तथा विपत व्यवस्थापन तर्फ बोटानिकल गार्डेन तटबन्धन, घोल व्यवस्थापन तथा तटबन्द, विपद् व्यवस्थापन तटबन्द, सुकुम्बासी तटबन्द, वन वातावरण तथा विपद व्यवस्थापन लगायतमा काम सम्पन्न भएको र युवा बालबालिका तथा लक्षित वर्गतर्फ वडाध्यक्षसँग खेलकुद कार्यक्रम, बालबालिकासँग वडाध्यक्ष कार्यक्रम, टोल विकास संस्थालाई क्षमता विकास तालिम, लक्षित वर्ग अपाङ्ग, सासु–बुहारी अन्तरक्रिया र गर्भवती महिला पोषण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा वडाध्यक्षले विनियोजित बजेट र प्रगतिविवरण सुनाइसकेपछि देवचुली १३ का वडावासी भोजराज ज्ञवाली, चिरञ्जिवी पाण्डे, शिवलाल काफ्ले, रुक्मागत न्यौपाने, ठाकुर प्रसाद पौडेल, महेश देवकोटा, सुनिल न्यौपाने, भीमप्रसाद पोख्रेल र नारायण प्रसाद पौडेलले कार्य विवरणबारे जिज्ञासा र सुझाव राखेका थिए ।वडावासीले रोखेको जिज्ञासालाई आगामी दिनमा सुझावको रुपमा लिएर काम गर्दै जाने वडाध्यक्ष पौडेलले बताउनुभयो । कार्यक्रममा दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष राजेश रसाईलीले शुभकामना मन्तव्य राख्दै वडाले निरन्तर काम गरिरहेको र आगामी दिनमा पनि यहाँका जनताको पक्षमा रहेर काम गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं १३ का वडावासी, वडा सदस्य, विभिन्न राजनीतिक दलका व्यक्ति लगायतको उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको स्वागत मन्तव्य वडा सचिव शिव प्रसाद भुसालले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिलले गर्नुभएको थियो ।
बिहिबार देवचुली उद्योग वाणिज्य संघको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम आभानी मिडिया प्रा.लि ह्याप्पी एफ.एमले संयोजन गरेको हो।