देवचुली,
सन्राइज बैंक कावासोती शाखाले विद्यालयमा प्याड ए.टि.एम मेसिन हस्तान्तरण गरेको छ । बिहिबार देवचुली नगरपालिका वडा नं ५ मा रहेको सकला माध्यमिक विद्यालयमा नै पुगि प्याड ए.टि.एम मेसिन हस्तान्तरण गरेको हो ।
महिनावारीको समयमा महिलाहरुलाई अति आवश्यक पर्ने प्याडका लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा विद्यालयमा कार्यरत महिला कर्मचारीहरुलाई लक्षित गर्दै विद्यालयलाई एक थान प्याड ए.टि.एम मेसिन बैंकले प्रदान गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ पोख्रेल, विद्यालयका शिक्षकशिक्षिका र छात्राहरुको उपस्थितिमा सन्राइज बैंक कावासोती शाखाका प्रमुख संजय अधिकारी, कर्मचारी दिपराज निगम र विवेक तिवारीले मेसिन हस्तान्तरण गर्नुभएको थियो।
विद्यालयमा व्यवस्थित शौचालय र सेनेटेरी प्याडको व्यवस्था नहुँदा छात्राहरु महिनावारीको समयमा विद्यालय जान समेत हिचकिचाउने गरेको धेरै घटनाहरु पाईन्छ । सो समस्यालाई मध्यनजर गर्दै सन्राइज बैंक कावासोती शाखाले विद्यालयमा प्याड एटिएम मेसिन प्रदान गरेको शाखा प्रमुख संजय अधिकारीले बताउनुभयो । उहाँले मेसिनमा एक सिक्का पैसा राखेपछि एउटा प्याड आउने बताउनुभएको थियो ।
विद्यालयमा प्याड एटिएम मेसिन जडान भएसँगै विद्यालयका छात्राहरु खुशी भएका छन् । विद्यालयमा नै महिनावारी भएपनि अब कुनै समस्या नहुने विद्यालयमा अध्ययनरत छात्राहरुको भनाई थियो । सकला मा.विमा पहाडी गाउँका धेरै छात्राहरु रहेकाले विद्यालयमा नै महिनावारी हुँदा लजाएर शिक्षिकाहरुलाई नभन्ने समस्या विद्यालयमा अझै भएकाले पनि यस मेसिनले अब छात्राहरुलाई उक्त समयमा सहज हुने विद्यालयका प्रधानाध्यापक लक्ष्मी सिवाकोटीले जानकारी दिनुभयो ।
सनराईज बैंकले देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएकोमा १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । यस बैंकले देशका विभिन्न ठाउँमा प्याड एटिएम प्रदान गर्ने क्रममा बैंकले मोलुङ्ग, किन्जा, डुम्रे, देउराली, बाग्लुङ्ग, वालिङ्ग, बर्दिवास, तेह्रथुम, विरेन्द्रनगर लयागतका ठाउँहरुमा उक्त मसिनहरु हस्तान्तरण गरिसकेको छ ।