बाको अभाव !
भित्ताभरी फैलिएको माकुराको जालोले
कुरुप भएको कोठा जस्तो
जिम्मेवारीका यावत् चाङहरुले थिचेर
उराठ लाग्दो चिहान जस्तो भएको
मेरा बाको अनुहार
मैले कसरी बिर्सनु र?
काटेको धान रुङन राति खेत गएको बेला
धानको मुठा ठड्याएर बनाएको कृतिम घरमा सुतेर
बाले मलाई सधैं सधैं सन्तुष्टिको कथा सुनाउनु हुन्थ्यो ।
सखुवागाछिको फेदमा बसेर
साहुलाई तिर्नुपर्ने साँवारब्याजको हिसाब गर्दागर्दै
एक मेलो कपाल फुलेको थाहै पाएनन् बाले।
पैताला मुनिबाट हराउँदै गएको धरातल
स्पर्शमा हराउँदै गएको आफ्नो पन
बार्दलीबाट हाम्फलेर बेपत्ता भएको दौतरी सपना
आमाको सिउँदोबाट अस्ताएको सिन्दुरको ईन्द्रेणी लगायत
यी यावत् घटनाहरूको समवेत संग्रहालयमा उभिएर
म कसरी पुग्न सकौला र सन्तुष्टिको सागरसम्म ?
तिम्रो न्याश्रो मेटाउन
हरेक बिहान छोराको औला समातेर खेमवारी डुलि हिड्दा
मैले तिमीलाई सम्झिने या बिर्सने के अभ्यास गरिरहेको छुरु
म आफै अनभिज्ञ छु ।
कैदलेको भिरबाट बहेर गएको पसिना
ह्यवा खोलामा मिसिएर कहाँ पुग्यो होला र?
टुटे देउरालीमा छुटेका सुस्केराहरु
भञ्ज्याङमा बिसाएको निद्रा
र, चिहानडाँडाबाट झरेर गएको जीनवको मधुमासले
तिमीलाई कहिल्यै फर्किएर हेरेनन् ।
नयाँ बजारका पुराना साहूहरुले खोसेका
तिम्रा बुढी औलाका रेखाहरुको नोस्टालजिक क्याराभ्यानले
मेरो सफलताको भ्रमात्मक हृदयलाई
अनवरत खिसिट्युरी गरिरहन्छ ।
बा १
सुकुम्बासी मुस्कान बोकेर
कतिदिन हिड्नु यी बैरागी गल्लीहरुमा र?
तिम्रो अभावको सहरले
ऐठनको पर्दाभित्र लुकाएर
मलाई हरदम चिथोरी रहन्छ ।
यस्तै रहेछ
छुट्टीएर टाठा भइसकेका धेरै कुराहरु
फर्किएर नआउँदा रहेछन् फेरि
कि आउँछन् बा र?
तिमी त आएनौ
केवल तिम्रो सम्झना
अहोरात्र आईरहन्छ
आमाको श्वेत सिउँदोको राजमार्ग भएर ।
-कवि मनोज बिराली -