देवचुली,
देवचुली नगर अस्पताल, दुम्कौलीमा सर्पदंस उपचार सेवाको समुद्घाटन गरिएको छ । देवचुली नगर अस्पताल दुम्कौलीले सोमबार एक कार्यक्रमको आयोजना गरि २४ घण्टे आकस्मिक सहित सर्पदंस उपचार सेवा समुद्घाटन गरेको हो । देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा अस्पतालमा सर्पदंस उपचार सेवा शुभारम्भ गरिएको हो ।
देवचुलीका मानिसहरुमा सर्पदंस हुने बित्तिकै उपचारका लागि गैंडाकोट र मध्यविन्दु पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । समयमा उपचार नपाएका कारण सर्पको टोकाइबाट मृत्यु हुने तथ्यांक पनि बढ्दो रहेको छ । यसको नियन्त्रण र न्यूनिकरणका लागि देवचुली नगर अस्पतालमा २४ घण्टा आकस्मिक सहित सर्पदंस उपचार सेवा प्रदान गर्न लागिएको अस्पतालका कार्यालय प्रमुख चित्रबहादुर सुनारले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले नगरपालिकाका नगरबासीलाई पूर्णरुपमा सेवा प्रदान गर्न देवचुली नगरपालिकाले देवचुली नगर अस्पतालतर्फ ध्यान केन्द्रित गरिरहेको बताउनुभएको छ । उहाँले गर्मीयाममा सर्पदंसको बिगबिगी भएकाले यसबाट सर्तकता रहन आग्रह गर्नुभएको थियो । यदि सर्पदंस भएमा उपचारका लागि अन्त कतै जान नपर्ने र नगर अस्पतालबाट सेवा चुस्तदुरुस्त रुपमा हुने बताउनुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीले नगरपालिकाले नगर अस्पतालमा आवश्यक पर्ने जनशक्तिको पूर्ण रुपमा व्यवस्थापनमा लागि रहेको बताउनुभएको थियो । नगर अस्पताल दुम्कौलीका लागि देवचुली नगरपालिका निरन्तर लागेको मरासिनीले बताउनुभयो । देवचुली नगरपालिकाले आ.व २०८०–०८१ का लागि २४ घण्टा नगर अस्पताल सञ्चालनार्थ आवश्यक जनशक्ति व्यवस्थापनको लागि १ करोड १० लाख विनियोजन गरेको छ ।
हरेक बर्ष देवचुली नगरपालिका मात्रै नभई नवलपुर जिल्लामा नै सर्पदंशका घटनाहरु बढि सार्वजनिक हुने गरेको पाइन्छ । सर्पले टोकेका मध्य कतिको समयमा उपचार नपाएकै कारण ज्यान जाने गरेको तथ्याङ्कहरु पनि रहेका छन् । देवचुली नगरपालिकामा आर्थिक बर्ष २०७९/०८० मा ४ जना पुरुषलाई सर्पले टोकेको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै नवलपुर जिल्लामा मात्रै यो आ.वमा विषालु सर्पले टोकेका १२ महिला र १५ पुरुष गरि २७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका फोकल पर्शन डिल्लीराम तिवारीले जानकारी दिनुभएको छ । यसैगरि अविषालु सर्पले टोकेको मध्य १ सय ८५ पुरुष रहेका छन् भने १ सय ७७ महिला गरि ३ सय ७२ संख्या रहेको छ । सर्पले टोकेको ठाउँमा घाउ बन्ने, रगत बग्ने, सुन्निने, रातो हुने, दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, कमजोरी महसुस हुने, टोकेको ठाउँ लाटो हुने वा झम्झमाउने जस्ता सामान्य लक्षण देखिने स्वास्थ्यकर्मीले बताएका छन् ।