देवचुली,
देवचुली नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रमका लागि ८० करोड २६ लाख ३५ हजार रकम विनियोजित गरिएको छ । शुत्रबार देवचुली नगरपालिकाको सभाहलमा २०८०/०८१ को नीति तथा कार्यक्रमबाट देवचुली नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशन सम्पन्न गरिएको हो ।
देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले आर्थिक विकास नीति, उद्योग तथा वाणिज्य, उत्पादन तथा बजार व्यवस्थापन प्रणाली, पशु सेवा, भू–संरक्षण तथा भू–उपभोग, राजस्व, वन तथा पर्यटन, श्रम तथा रोजगार, सहकारी विकास, सामाजिक विकास, स्वास्थ्य, आयुर्वेद, अपाङ्गता, महिला, बालबालिका, जेष्ठ नागरिक, सामाजिक समावेशिता, पूर्वाधार विकास निति, नक्सा पास सम्बन्धि निति, नापी सम्बन्धि निति, वन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन नीति, सुशासन, संस्थागत विकास तथा सेवा प्रवाह नीति, संस्थागत विकास र सञ्चार तथा सूचना प्रविधि कार्यक्रम ल्याइएको बारे जानकारी गर्नुभएको थियो ।
देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले आ.व २०८०/०८१ को लागि प्रस्तावित आय र व्ययको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रमका लागि ८० करोड २६ लाख ३५ हजारको रकम विनियोजित गरिएको जानकारी गराउनुभएको थियो । जसमध्ये आयतर्फ सङ्घीय सरकारको सशर्त अनुदान ३४ करोड ११ लाख, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १३ करोड ३२ लाख र राजस्व बाँडफाँड १० करोड ८१ लख ४९ हजार समावेश गर्नुभएको थियो । यसैगरि गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान समानीकरण अनुदान १ करोड ८३ लाख ५५ हजार र राजस्व बाँडफाँड बापत १ करोड ३४ लाख १५ हजार, सर्शत विशेष ५० लाख समपुरक अनुदानतर्फ ५० लाख विनियोजित गरिएको छ । नगरपालिकाको आन्तरिक आय १२ करोड ८४ लाख १६ हजार, मालपोत रजिष्ट्रेशन शुल्क ५ करोड प्राप्त अनुमान गरिएको छ ।
कुल विनियोजित बजेटमा विषयगत क्षेत्र अन्तर्गत सामाजिक विकास क्षेत्र तर्फ ४१.३० प्रतिशत, आर्थिक विकास क्षेत्र तर्फ ११.२५ प्रतिशत, पूर्वाधार विकास क्षेत्र तर्फ २२.१३ प्रतिशत, वन वातावरण तथा विपद क्षेत्रतर्फ २.९२ प्रतिशत तथा संस्थागत तथा सुशासन क्षेत्रतर्फ २२.४० प्रतिशत बजेट विनियोजित गरिएको छ ।
नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि साइलेज उद्योग मार्फत कृषकको आय आर्जन वृद्धि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने तर्फ आवश्यक पूर्वाधार निर्माणका लागि ६० लाख विनियोजन, मेयर कार्यक्रमका लागि ४० लाख र महिलासँग उपमेयर कार्यक्रमका लागि २० लाख गरी ६० लाख विनियोजन, कृषि उपज संकलन केन्द्र निर्माणका लागि १५ लाख र कृषि एम्बुलेन्सको लागि ३० लाख, विपद् कोषमा १ करोड, मेयर छात्रवृत्ति कार्यक्रमम ४० लाख, फोहोरमैला दिगो व्यवस्थापनका लागि २५ लाख, सुकुम्बासी समस्या समाधानका लागि २० लाख, समपुरक कोषमा २ करोड, १७ वटा वडाका वडास्तरीय कार्यक्रमका लागि विकासका ५ स्तम्भहरुमा ८ करोड, देवचुली डाँडा पदमार्ग, पर्यटकीय पूर्वाधार निर्माणको लागि १३ लाख, व्यवसायहरुलाई प्रवद्र्धन गर्न १० लाख, दमकल खरिदका लागि ३० लाख, एम्बुलेन्स खरिदका लागि २२ लाख, नगरपालिकाको डिजिटल नगर प्रोफाईलको लागि २५ लाख, बाल विकास सहजकर्ता, विद्यालय कर्मचरी तथा परिचालिकाको न्यूनतम पारिश्रमिक सुनिश्चितताको निरन्तरताको लागि ८५ लाख, खेलकुद विकासका लागि २० लाख, शैक्षिक क्षति न्यूनिकरणको लागि १० लाख, नगर अस्पतालका जनशक्ति व्यवस्थापनका लागि १ करोड १० लाख, वनस्पति उद्यानका लागि १० लाख, नगरस्तरीय कार्यक्रम तर्फ ८ करोड १७ लाख ५० हजार, कृषि क्षेत्रको समग्र विकासका लागि १ करोड ४७ लाख ७५ हजार, पशु विकासमा ४५ लाख, व्यवसायिक फर्म तथा किसानहरुका लागि १ करोड ४६ लाख ५० हजार, शिक्षा यूवा तथा खेलकुद क्षेत्रमा २५ करोड ४२ लाख, विद्यालयमा युवा शिक्षकहरुको आकर्षणको लागि १ करोड १७ लाख, स्वास्थ्य क्षेत्रका ३ करोड ९८ लाख ५०, जनचेतनामुलक कार्यक्रमका लागि ८९ लाख, आयुर्वेद तर्फ ३० लाख, व्यवसायी राहातका लागि २८ लाख, सामाजिक विकासका लागि ४० लाख ९० हजार, राजस्व व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन १२ लाख, सुशासन तथा संस्थागत विकासका लागि १६ करोड ५८ लाख ५० हजार विनियोजन गरेको छ ।
नगरसभामा देवचुली नगरपालिकाका प्रवक्ता एवम् वडा नं ११ का वडाध्यक्ष तिल प्रसाद काफ्लेले २०७९/०८० प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने विद्यायन समितिका संयोजक एवम् वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेलले संशोधन सहितका विद्यायकहरु सभामा प्रस्तुत गर्नुभएको थियो ।
नगरसभामा उठेका जिज्ञासालाई नगरप्रमुख हरि प्रसाद न्यौपाने र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीले जवाफ दिनुभएको थियो ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक विद्येयक र आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण सर्वसम्मत रुपमा पास भएको छ ।