नवलपुर,
नवलपुरलाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना” जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिद्वारा मंगलबार आयोजित एक समारोहमा नवलपुर जिल्लालाई आर्थिक बर्ष २०७९/०८० को पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक बाबुराम विश्वकर्माले गर्नुभएको थियो ।
जिल्ला भित्र रहेका बालबालिकाहरुलाई १३ प्रकारका रोग विरुद्ध खोप प्रदान गरिएको जिल्ला जनस्वास्थ्य कार्यलय नवलपुरका प्रमुख केशब प्रसाद चापागाईले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा बालबालिकाहरुलाई दिने अन्तिम खोप दादुरा रुबेलाको दोस्रो मात्रा लगाउने बालबालिकाहरुको संख्या ५ हजार ७ सय ५३ जना रहेको र त्यसको प्रगति भने ९७ प्रतिशत रहेको र यो आर्थिक बर्ष बैशाख सम्म सोही खोप लगाउनेको संख्या ४ हजार ७ सय २ रहेको बताउनुभयो ।
जिल्लामा पूर्ण खोप सुनिश्चितता घोषणाको प्रकृयामा घरधुरी सर्बेक्षण गर्दा अध्याबधिक भएको तथ्याङ अनुसार जिल्लामा खोप लगाउन छुटेका कुल १ सय २ जना र खोप लगाइएका छुट बालबालिकाको संख्या १ सय १ गरि कुल १ सय ३ जना बालबालिकाहरु खोपबाट छुटेको जिल्ला स्वास्थ्य कार्यलय नवलपुरको तथ्याङले देखाएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक बाबुराम विश्वकर्माले स्वास्थ्यकर्मीहरुले निरन्तर ठोकिएर काम गरेकाले पनि आज जिल्ला पूर्ण खोप सूनिश्चितता हुन सफल भएको बताउनुभएको थियो । उहाँले राज्यले जिम्मेवारी ढंगले बालबालिकाको स्वास्थ्यको क्षेत्रमा लगानी गरिरहेकाले गाउँ–गाउँमा खोप आवश्यक छ भनेर जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभएको थियो । खोपको विषयलाई अझै पनि गाउँघरका मानिसहरुले सामान्य लिने भएकाले यसलाई प्रष्ट पार्न आग्रह गर्नुभएको थियो ।
जिल्लाका आठवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्लाका पालिकाका प्रमुख, उपप्रमुख, जिल्ला प्रशासन कार्यलय नवलपुरका साहायक जिल्ला अधिकारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरका प्रत्येक पालिकाका उत्कृष्ट खोप कार्यकर्ताहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।