काठमाडौं
चालु आर्थिक वर्ष (आव) २०७९/८० पुरा हुन अब ठ्याक्कै एक महिना बाँकी छ । १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको सरकारले अर्धवार्षिक समीक्षा र नयाँ आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणसहित दुई पटक लक्ष्य घटाएर १५ खर्ब ४ अर्ब ९९ करोड कायम गरेको छ । यो संशोधित लक्ष्य भेट्याउन समेत अब सरकारले दैनिक ११ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ भने राजस्वको लक्ष्य भेट्न दैनिक साढे ११ अर्ब रुपैयाँ आम्दानी गर्नुपर्छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार दैनिक १० अर्ब ९६ करोड रुपैयाँ बजेट खर्च गर्दा सरकारले लिएको पछिल्लो लक्ष्य १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ पुरा हुन्छ । तथ्याङ्क अनुसार बिहीबार (३२ जेठ)सम्म ११ खर्ब ७६ अर्ब ६ करोड रुपैयाँ बजेट खर्च भइसकेको छ । यो वार्षिक लक्ष्यको ६०.३६ प्रतिशत हो ।
सरकारले आगामी आव २०८०/८१ को बजेट भाषणमा मात्र वार्षिक विनियोजनको ८३.९० प्रतिशत बजेट खर्च गर्ने नयाँ लक्ष्य लिएको छ । यस अनुसार अबको १ महिनामा सरकारले ३ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ खर्च गर्नुपर्छ । सोही कारण सरकारले प्रतिदिन ११ अर्ब रुपैयाँ बजेट खर्च गर्नुपर्ने चुनौती सरकारसँग रहेको छ ।
दयनीय पूँजीगत खर्च
यो वर्ष पनि सरकारले विकास बजेट खर्चको प्रगति दयनीय देखिएको छ । जेठ मसान्तसम्म लक्ष्यको मात्र ४०.२४ प्रतिशत पूँजीगत खर्च भएको छ । सरकारले यस आवमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ विकास बजेट खर्च गर्ने भनेको थियो । तर, यसमा भारी कटौती गर्दै संशोधित लक्ष्य निर्धारण गरिएको छ ।
पछिल्लो संशाधित अनुमानअनुसार पूँजीगत खर्च विनियोजनको मात्र ६७.९१ प्रतिशत अर्थात् २ खर्ब ५८ अर्ब ३४ कारेड रुपैयाँ हुनेछ । यो लक्ष्य भेटाउन समेत सरकारले बाँकी १ महिनामा १ खर्ब ४ अर्ब २६ करोड खर्च गर्नुपर्छ । जस अनुसार सरकारले दैनिक ३ अर्ब ५० करोड रुपैयाँ विकास बजेट खर्च गर्नुपर्छ ।
चालु खर्च भने निरन्तर बढिरहेको छ । यस आवमा ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ चालु बजेट खर्चको लक्ष्य राखेको सरकारले जेठ मसान्तसम्म ८ खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ बजेट खर्च गरिसकेको छ । असार मसान्तसम्म चालू खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । यो चालु खर्चका लागि लिएको कुल लक्ष्यको तुलनामा ८८.१८ प्रतिशत हो ।
चालु खर्चको संशोधित लक्ष्य पूरा गर्न सरकारले अब दैनिक ५ अर्ब ५३ करोड रुपैयाँ खर्च गर्नुपर्छ । वित्तीय व्यवस्थातर्फ यस वर्ष सरकारले २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको थियो । ३२ जेठसम्म वित्तीय व्यवस्थामा १ खर्ब ४५ अर्ब ५८ करोड रुपैयाँ खर्च गरिसकेको छ । यो लक्ष्यको ६३.२४ प्रतिशत हो । सरकारले बजेटमार्फत वित्तीय व्यवस्थामा २ खर्ब ३ अर्ब २६ करोड अर्थातः विनियोजन लक्ष्यको ८८.२९ प्रतिशत हो ।
राजस्वको लक्ष्य भेटाउन साढे ११ अर्ब आम्दानी आवश्यक
सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्वको लक्ष्य तोकेको थियो । यो लक्ष्य पूरा नहुने अर्थ मन्त्रालयले स्वीकार गरिसकेको छ । नयाँ लक्ष्य अनुसार असार मसान्तसम्म ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठ्नुपर्छ । यो कुल लक्ष्यको ८४ प्रतिशत मात्र हो । जुन अघिल्लो आवको तुलनामा ५.९५ प्रतिशत कम हुन आउँछ । सशोधित लक्ष्य भेट्नसमेत सरकारले १ महिनाको अवधि (असार)मा ३ खर्ब ४२ अर्ब ९९ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्छ । यसअनुसार अब सरकारले दैनिक ११ अर्ब ४३ करोड रुपैयाँ राजस्व उठाउनु पर्छ । जेठ मसान्तसम्म सरकारले राजस्व, अनुदान र अन्य आम्दानीमार्फत कुल ८ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ कमाएको छ ।
सरकारको आम्दानी र खर्चबीचमा २ खर्ब ९५ अर्बको खाडल
यो वर्ष सरकारको आम्दानी र खर्चका बीचमा निरन्तर ठूलो खाडल रहँदै आएको छ । आर्थिक वर्षको ११ औं महिनासम्म आइपुग्दा २ खर्ब ९५ अर्ब ६८ करोड रुपैयाँको खाडल सरकारको आम्दानी र खर्चका बीचमा देखिएको छ । अपुग खर्चका लागि सरकारले ऋण लिनुपर्ने बाध्यता छ ।
तथ्याङ्क अनुसार सरकारको राजस्व, अनुदान र अन्य आम्दानीले चालु खर्च मात्र धान्न सकेको अवस्था छ । विकास खर्च र ऋण तिर्न पुनः ऋण नै लिनुपरेको तथ्यांकले देखाएको छ ।
साभारःअनलाइनखबरबाट