देवचुली,
साविक प्रगतिनगरको १० , ११, १२, १३, १४ र १५ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार देवचुली १३ मा रहेको साहारा पाटी प्यालेसमा देवचुली नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ नवलपुरको शाखाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । आर्थिक वर्ष २०७८–०७९ को विकास व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
चालु आर्थिक बर्षको साढे दश महिना सकिए सँगै नगरपालिकाले हालसम्म गरेका प्रगति विवरणबारे देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीले जानकारी गराउनुभएको थियो । उहाँले चालु आर्थिक बर्ष २०७९–०८० को निति कार्यक्रम तथा बजेटका लागि ७५ करोड विनियोजन गरेकोमा हाल सम्म आइपुग्दा ४१ प्रतिशत पूँजीगत खर्च भएको र ६५ प्रतिशत चालुतर्फ खर्च भएको जानकारी गराउनुभएको थियो । केन्द्रीय सरकारबाट ठूलो बजेट विनियोजन नहुँदा काम थालनी गर्न समस्या भएको समेत मरासिनीले बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुलाई आफ्नो जिज्ञासा राख्नको लागि खुल्ला गरिएको थियो । कार्यक्रममा बोल्दै स्थानीयहरुले दलदले–मुण्डे सडकखण्डको डिपिआर, निर्माणाधिन बाटोको नगरपालिकाले अनुगमन नगरेको विषयमा नगरपालिकालाई प्रश्न गरेका थिए । यसैगरि देवचुलीका बुहारीहरुलाई उच्च शिक्षाको लागि प्रोत्सहान गर्नका लागि नगरपालिकाले आगामी निति तथा कार्यक्रममा राख्नुपर्ने सुझाव दिँदै देवचुली नगरपालिकालाई महिला खेलकुद हबको रुपमा घोषणा गर्नुपर्ने बताएका थिए ।
यसैगरि उपस्थित स्थानीयहरुले देवचुली नगरपालिकामा बन्ने भनिएको ट्रमा सेनटरको विषयमा, देवचुली १३ मा रहेको नवलपुर क्रसर उद्योग मापदण्ड विपरित संचालनमा रहेको, सुकुम्बासी समस्या, ऐलानी जग्गा, कृषिमा आवश्यक अनुदान, खेलग्राम निर्माण, फोहोर व्यवस्थापन, दुम्कौलीमा रहेको नगर अस्पतालको कार्य फितलो, शिक्षामा भइरहेको राजनीति, आर्थिक मन्दीको समयमा भाडादर वृद्धि जस्ता विभिन्न विषयमा स्थानीय सरकारको ध्यानकर्षण रहनुपर्ने बताएका थिए ।
वडावासीको माग र जिज्ञासालाई नगर प्रमुख हरिप्रसाद न्यौपाने , स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठ, शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा, कृषि शाखा प्रमुख गगन भट्टराई, पशु सेवा शाखा प्रमुख डा. श्याम कृष्ण तिवारीले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले स्थानीयको माग र जिज्ञासालाई सम्बोधन गर्दै वडावासीको हितमा रहेर सधैं काम गर्ने बताएका थिए ।
देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता, नगर उप–प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी, साविक प्रगतिनगर १० , ११, १२, १३, १४ र १५ का वडाध्यक्षहरु, वडा सदस्य र देवचुली नगरपालिकाका विभिन्न शाखा प्रमुख एवम् नगरपालिकाका कर्मचारी, स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ नवलपुरका सचिव विष्णु गौडेलले गर्नुभएको थियो ।